सर्लाहीमा गएराती घरमै सुतिरहेका वृद्ध दम्पतीमाथि इँटा प्रहार, दुवै गम्भीर घाइते

सर्लाहीमा गएराती घरमै सुतिरहेका वृद्ध दम्पतीमाथि इँटा प्रहार, दुवै गम्भीर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ कार्तिक २०८३
  • 1K
    Shares

सर्लाही, २८ कार्तिक २०८३।

सर्लाहीमा गएराती घरमै सुतिरहेका वृद्ध दम्पतीमाथि इँटा प्रहार हुँदा दुवै गम्भीर घाइते भएका छन्।

हरिपुर्वा नगरपालिका–९, बसन्तपुरमा आफ्नै घरमा सुतिरहेका वृद्ध दम्पतीमाथि अज्ञात समूहले इँटा प्रहार गरी गम्भीर घाइते बनाएको छ।

प्रहरीका अनुसार घटना गएरातिको हो। सुतिरहेको अवस्थामा आएका अज्ञात व्यक्तिहरूले ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती जिब्छी साहको टाउको र अनुहारमा इँटाले प्रहार गरेका थिए। आक्रमणबाट दुवै जनाको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ।

किराना पसल सञ्चालन गर्दै आएका साह दम्पतीको हाल जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। दुवै जनाको अवस्था गम्भीर रहेको स्थानीयले बताएका छन्।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमले बताए।

“दम्पतीमाथि सुतिरहेको अवस्थामा अज्ञात समूहले आक्रमण गरेको भन्ने जानकारी आएको छ। प्रहरी टोली घटनास्थलतर्फ गइसकेको छ। अनुसन्धानपछि मात्रै दम्पतीमाथि कसले र किन आक्रमण गरेको हो भन्ने खुल्नेछ,” उनले भने।

आक्रमणको कारण अहिलेसम्म खुल्न नसकेको हरिपुर्वा नगरपालिका–८ का वडाध्यक्ष रमेश यादवले बताए। प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार