नवलपरासी, १९ कार्तिक २०८३।
नवलपरासीमा तीनवटा भारतीय मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते छन्।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलशपुरस्थित गोपिगञ्ज–गण्डक नहरको भित्री सडकमा तीनवटा भारतीय नम्बर प्लेटका मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो भने चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहिबार साँझ करिब ६:१० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको UP 53 BV 9753 नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको UP 56 X 0334 नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। सोही क्रममा पछाडिबाट आउँदै गरेको UP 56 X 2944 नम्बरको अर्को मोटरसाइकलसमेत ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका UP 56 X 0334 नम्बरको मोटरसाइकल चालक पाल्हीनन्दन गाउँपालिका–४ लोहरौली निवासी २०/२२ वर्षीय उसमान पठानको साँझ ७:०८ मा उपचारका क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। घाइतेमध्ये रामग्राम नगरपालिका–१७ पिपरहवाका १९ वर्षीय ईसराफिल अंसारीको टाउको र बायाँ खुट्टामा तथा सोही स्थानका ३९ वर्षीय प्रमोद तेलीको टाउको र कम्मरमा चोट लागेको छ।
त्यस्तै, पाल्हीनन्दन गाउँपालिका–३ बेलशपुरका १६ वर्षीय मोहम्मद राजा पठानको दाहिने हात र खुट्टामा तथा १७ वर्षीय सत्यम हरिजनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
चारै जनालाई थप उपचारका लागि बुटवलका विभिन्न अस्पतालमा रिफर गरिएको छ। उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ।
दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। साथै, UP 56 X 0334 नम्बरको मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय फिरोज अली देवानलाई समेत नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।