पोखरा, ११ कार्तिक २०८३।
ब्राजिलको सर्वोच्च अदालतले राष्ट्रपतिय निर्वाचनमा पराजित फ्लाभियो बोल्सोनारोलाई विदेश जान प्रतिबन्ध लगाएको छ। न्यायाधीश अलेक्जान्द्रे डी मोराइसले २४ घण्टाभित्र राहदानी प्रहरीलाई बुझाउन दिएको निर्देशन कार्यन्बयाँ नगरिए पछि सोमबार उनलाई देश छाड्न नपाउने गरी प्रतिबन्ध लगाइएको हो।
फ्लाभियोबिरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान चलिरहेको बेला अदालतले यस्तो आदेश दिएको हो। फ्लाभियो र वकिल विलर तोमाजबीचको सम्बन्ध तथा सम्भावित वित्तीय कारोबारबारे अनुसन्धान भइरहेको बताइएको छ। फ्लाभियोले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन्।
यसैबीच अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले फ्लाभियो र उनको परिवारलाई भिसा जारी गरेर अमेरिका प्रवेश गर्न दिने बताएको बीबीसीले जनाएको छ। यो घटनाले ब्राजिलको राजनीतिक वृत्तमा नयाँ विवाद सिर्जना गरेको छ।
आइतबार सम्पन्न ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा दक्षिणपन्थी उम्मेदवार बोल्सोनारो वामपन्थी प्रतिद्वन्द्वी लुलासँग पराजित भएका थिए। परिणाम सार्वजनिक भए पनि बोल्सोनारोले हालसम्म पराजय स्वीकार गरेका छैनन्।
फ्लाभियोका पिता तथा पूर्वराष्ट्रपति जायर बोल्सोनारो पनि सन् २०२२ को निर्वाचनमा लुलासँग पराजित भएपछि अमेरिका गएका थिए। पछि ब्राजिल फर्किएका उनी सन् २०२२ को निर्वाचनपछि सत्ता कब्जा गर्ने प्रयास गरेको अभियोगमा सुनाइएको २७ वर्षको जेल सजायअन्तर्गत अहिले घरमै नजरबन्दमा छन्।
फ्लाभियोले सोमबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफू ब्राजिल छाड्ने मनसायमा नरहेको बताएका थिए। उनले अदालतको आदेश पालना गर्दै राहदानी बुझाउने र राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको सरकारविरुद्ध राजनीतिक प्रतिपक्षका रूपमा काम जारी राख्ने बताएका थिए।
तर रोयटर्सका अनुसार फ्लाभियो ब्राजिल छाडेर अमेरिका पुगेको समाचार सार्वजनिक भएको छ। यद्यपि उनी कुन बाटो हुँदै अमेरिका पुगे भन्नेबारे स्पष्ट विवरण सार्वजनिक भएको छैन।
ब्राजिलका राष्ट्रपति लुलाले फ्लाभियोले देश छाडेको खबरप्रति टिप्पणी गर्दै त्यसलाई ‘लज्जास्पद’ भनेका छन्। ब्रासिलियामा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘लुकाउनुपर्ने केही छैन भने डराउनुपर्ने केही छैन।’
आफूले पनि निर्वाचनमा पराजय भोगेको तर देश नछाडेको स्मरण गर्दै लुलाले भने, ‘म पनि निर्वाचनमा हारेको छु, तर ब्राजिलमै बसेँ। निर्वाचन भर्खरै हारेको र देशबाट भागेको नागरिकको मनमा कस्तो अपराधबोध होला भनेर म सोचिरहन्छु।’
लुलाले बोल्सोनारोले देशमै बसेर आफूविरुद्धका आरोप गलत साबित गर्न सक्ने भए पनि त्यसो नगरेको आरोप लगाए। ‘मैले उनलाई इमानदारिता प्रमाणित गर्ने अवसर दिन निर्वाचन अदालतमा सबै कागजात बुझाएको थिएँ,’ उनले भने।
सन् २०१८ मा घुसखोरी र भ्रष्टाचारसम्बन्धी आरोपमा पुनरावेदनमा पराजित भएपछि आफूले राहदानी बुझाएको स्मरण गर्दै लुलाले भने, ‘बोल्सोनारोले पनि त्यही गर्नुपर्थ्यो। ब्राजिल उनको दोस्रो मातृभूमि हो, पहिलो त अमेरिकाको चाकरी गर्नु हो।’