ओहायो, अमेरिका, ५ कार्तिक २०८३।
अमेरिकाको ओहायो राज्यमा डाँकाहरुले चलाएको गोली लागेर एक जना नेपालीभाषी व्यवसायीको मृत्यु भएको छ।
ग्राहकको भेषमा आएका डाँकाहरुले चलाएको गोली लागेर अमेरिकाको ओहायो राज्यस्थित फेयरफिल्डमा रहेको एभरेस्ट ज्वेल्स एन्ड क्लोदिङ’ सञ्चालन गर्दै आएका नेपालीभाषी भुटानी व्यवसायी तारामान सेन्चुरीको मृत्यु भएको हो।
फेयरफिल्ड प्रहरीका अनुसार मंगलबार दिउँसो करिब १ बजेअघि पसलबीच गोली चलेको सूचना आएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरीले पसलबीच एक पुरुषलाई मृत अवस्थामा फेला पारेको थियो। पछि उनका साथीले मृतक पसल सञ्चालक सेन्चुरी नै रहेको पुष्टि गरेको प्रहरीले जनाएको छ।
घटनाको प्रकृति लुटपाटसँग सम्बन्धित हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनालगत्तै प्रहरीले पसलसहित आसपासको व्यापारिक क्षेत्र केही घण्टासम्म बन्द गराएर अनुसन्धान गरेको थियो।
घटनामा संलग्न व्यक्तिको पहिचान र थप विवरण सार्वजनिक भएको छैन। घटनाबारे फेयरफिल्ड प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ। घटनाबारे जानकारी हुने व्यक्तिलाई फेयरफिल्ड प्रहरीका सर्जेन्ट ब्रायन कार्नेसको नम्बर ५१३–८६७–६००५ वा फेयरफिल्ड प्रहरी विभागको नम्बर ५१३–८९६–८२०० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
नेपालस्थित शरणार्थी शिविरबाट पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका आएका सेन्चुरीले २०२३ देखि मात्र गहना पसल अरु सँग खरिद गरेका थिए ।
यो घटनाले हत्याले अमेरिकामा गहना व्यवसाय सञ्चालन गरिरहेका नेपाली समुदायका सदस्यहरूको सुरक्षाबारे फेरि चिन्ता थपेको छ।