कास्कीमा Operation 365 ले पूरा गर्‍यो एक वर्ष : आठसय ९८ मोडिफाइड मोटरसाइकल कारबाहीमा, ३६ जना प्रहरीको नियन्त्रणमा

कास्कीमा Operation 365 ले पूरा गर्‍यो एक वर्ष : आठसय ९८ मोडिफाइड मोटरसाइकल कारबाहीमा, ३६ जना प्रहरीको नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ असोज २०८३
  • 0
    Shares

पोखरा, २७ असोज २०८३।

नयाँ प्रमुखका रुपमा जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएर आएका एसपी नविन कार्कीले ‘”मोटरसाइकलको स्वरुप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, आगोको झिल्का निकाल्ने र सडकमा होहल्ला मच्चाउँदै शान्ति सुव्यवस्थामा खलल पार्ने गतिविधि रोक्न” भन्दै अभियानका रुपमा शुरु गरेको “Operation 365” ले एक वर्ष पूरा गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका युनिटहरूले उक्त एक वर्ष लामो अवधिमा जिल्लाका विभिन्न स्थानमा गरेको चेकजाँचको क्रममा आठसय ९८ वटा मोटरसाइकल र ३६ जना मानिसलाई नियन्त्रणमा लिई कारबाही गरेको बताइएको छ।

त्यस क्रममा स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने, आगोको झिल्का निकाल्ने, सडकमा मोटरसाइकल उडाउँदै उच्छृङ्खल गतिविधि गर्ने र समाजलाई आतंकित पार्ने कार्य गर्ने गरेको प्रहरीको दाबी छ। सोही क्रममा नियन्त्रणमा लिइएका ३६ जना मध्ये मोडिफाई गर्ने/गराउने कार्यमा संलग्न २९ जनालाई सार्वजनिक शान्ति विरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरी कारबाही गरिएको छ भने अन्यलाई सम्झाई-बुझाई गरी परिवारको जिम्मा लगाइएको थियो।

त्यसैगरी, कारबाहीमा परेका आठसय ९८ मोटरसाइकलमध्ये पटके कारबाहीमा परेका ३६७ वटा मोटरसाइकललाई यातायात व्यवस्था कार्यालय मार्फत कारबाही गरिएको छ भने बाँकीलाई ट्राफिक जरिवाना गरी छाडिएको थियो। पक्राउ परेका सबै मोटरसाइकलहरू प्रहरीको रोहबरमा मेकानिक झिकाई पहिलेकै मौलिक अवस्थामा फर्काएर अब आइन्दा यस्तो गतिविधि नगर्ने शर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

यस्तो कार्यले समाजमा रहेका बालबालिका, वृद्धवृद्धा, अशक्त, बिरामी तथा अस्पतालमा उपचाररत व्यक्तिहरूलाई मानसिक तथा शारीरिक रूपमा असर पार्ने भएकाले सवारी धनीहरूले आफ्नो सवारी साधन मोडिफाई नगरी सक्कली स्वरुपमै चलाउन र ग्यारेज, वर्कसप तथा रिकन्डिसन हाउस सञ्चालकहरूले पनि मोडिफाई गर्ने/गराउने कार्य नगर्न प्रहरीले हार्दिक अनुरोध गरेको छ।

प्रहरीको यस कार्यलाई नागरिक स्तरबाट प्रभावकारी रहेको भन्दै निरन्तरता दिनुपर्ने सुझाव आएको हुँदा “Operation 365” लाई जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतबाट निरन्तर रूपमा संचालन गरिरहने प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार