पोखरा, २५ असोज २०८३।
भासिएर दोहोरो आवागमन अवरुद्ध भएको पृथ्वी राजमार्गको गलौदी क्षेत्र आज रातिदेखि एकतर्फी खुलाइने भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै काठमाडौंतर्फ पर्ने गलौदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक विभागका अनुसार अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउन भित्तापट्टिको भाग कटान गरी सडक विस्तार गर्ने काम तीव्र गतिमा भइरहेको छ। उपलब्ध जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरेर सडकलाई सुरक्षित रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको विभागले जनाएको छ।
विभागले सार्वजनिक गरेको सूचना अनुसार आज असोज २४ गते राति ९ बजेदेखि एकतर्फी सवारी आवागमन सञ्चालन गर्ने लक्ष्य राखिएको छ। त्यसैगरी, भोलि बिहान ७ बजेदेखि दुईतर्फी सवारी सञ्चालनका लागि आवश्यक सडक विस्तारको काम सुरु गरिनेछ।
मौसम तथा अन्य परिस्थिति अनुकूल रहेमा भोलि साँझ ६ बजेसम्म सडक विस्तारको काम सम्पन्न गरी दुईतर्फी सवारी आवागमन सञ्चालन गर्ने लक्ष्य रहेको विभागले जनाएको छ।
सडक भासिएपछि राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालक प्रभावित भएका छन्। सडक पुनः सञ्चालनमा नआएसम्म अनावश्यक यात्रा नगर्न र सम्बन्धित निकायले जारी गर्ने सूचना तथा ट्राफिक व्यवस्थापनसम्बन्धी निर्देशन पालना गर्न सडक विभागले आग्रह गरेको छ।
प्राकृतिक प्रकोपका कारण उत्पन्न परिस्थितिबाट यात्रु तथा सर्वसाधारणमा परेको असुविधाप्रति विभागले क्षमायाचना गर्दै सडकलाई यथाशीघ्र सुरक्षित रूपमा सञ्चालनमा ल्याउन प्रयास भइरहेको जनाएको छ।