पोखरा, २० असोज २०८३ ।
पोखराको सराङकोटमा गएराती ७२ वर्षीय वृद्धको हत्या भएको छ।
महानगरपालिका–२४ सराङकोटस्थित कार्कीको तगाराका ७२ वर्षीय पूर्ण भद्र त्रिपाठीमाथि कोदालो तथा सिसाको बोतल प्रहार गरी हत्या भएको हो। बृद्ध त्रिपाठीको हत्या गरेको आरोपमा प्रहरीले सोही स्थानका ३३ वर्षीय जगत दाहाललाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार , अभियुक्त दाहालले त्रिपाठीलाई सोमबार साँझ करिब ५ः४५ बजे कोदालो तथा सिसाको बोतल प्रहार गरी घाइते बनाएकोमा तत्काल उद्धार गरी उपचारका लागि पोखरास्थित मेट्रोसिटी अस्पताल पठाइएकोमा साँझ ७ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। घटनास्थलबाट घटनामा प्रयोग भएको भनिएको एक थान कोदालो र एक थान सिसाको बोतल समेत बरामद गरिएको प्रहरीले दाबी गरेको छ।
यता त्रिपाठीमाथि आक्रमण गरेपचात भाग्दै गरेको अवस्थामा प्रहरीले दाहललाई आइतबार साँझ ७ः१५ बजे नै पोखरा–२४ पामेको पुलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
दाहालविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।