मनाङ , १५ असोज २०८३।
मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परेर आजसम्म ११ जनाको शब् भेटिएको छ भने अझै पांच जना बेपत्ता भएका छन् ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) को खोज तथा उद्धार टोलीले आज गरेको खोजतालाश्का क्रममा थप चार जनासहित हालसम्म ११ जना मृत्य भेटिएका हुन् भने अझै पांच जना बेपत्ता भएका छन् ।
एनएनएमजीएका अनुसार अन्तर्राष्ट्रिय पर्वतारोहण गाइड पासाङकाजी शेर्पाको नेतृत्वमा खटिएको अनुभवी माउन्टेन गाइड टोलीले अत्यन्त कठिन हिमाली परिस्थितिका बीच खोजी जारी राखेको थियो। पछिल्लो पटक चार शव फेला परेसँगै हिमपहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ।
यसअघि बुधबार थप तीन जनाको शव फेला परेको थियो। ती शव गोर्खाको धार्चे गाउँपालिका–२ करौँजाका आश गुरुङ, खोटाङको ऐँसेलुखर्क गाउँपालिका–३ का सुरज राई तथा रुकुमको हुकामका कमल बुढाको रहेको पुष्टि गरिएको थियो। त्यसअघि चार जनाको शव फेला परिसकेको थियो।
गत असोज ११ गते बिहान हिम्लुङ हिमालको आधार शिविर क्षेत्रमा हिमपहिरो गएको थियो। हिमपहिरोमा आरोहण तथा त्यससँग सम्बन्धित तयारीका लागि आधार शिविरमा पुगेका १६ जना बेपत्ता भएका थिए। तीमध्ये हालसम्म ११ जनाको शव फेला परिसकेको र अझै पाँच जना सम्पर्कविहीन रहेको एनएनएमजीएले जनाएको छ।
हिम्लुङ हिमाल समुद्री सतहबाट करिब सात हजार एकसय २६ मिटर उचाइमा रहेको हिमाल हो। घटनापछि प्रतिकूल मौसम र ठूलो मात्रामा जमेको हिउँका कारण खोजी तथा उद्धारमा कठिनाइ भएको थियो। उद्धार टोलीले हिउँभित्र पुरिएका संरचना तथा टेन्ट आसपास केन्द्रित भएर खोजी गरिरहेको छ।
बेपत्ता पाँच जनाको अवस्था पत्ता लगाउन खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको एनएनएमजीएले जनाएको छ।