हिमलुङ हिमपहिरो अपडेट : थप दुई शव बरामद , १२ जना अझै बेपत्ता

हिमलुङ हिमपहिरो अपडेट : थप दुई शव बरामद , १२ जना अझै बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १२ असोज २०८३
  • 570
    Shares

मनाङ, १२ असोज २०८३ ।

मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिमलुङ क्षेत्रमा आइतबार गएको हिमपहिरोमा परी बेपत्ता भएका मध्ये थप दुई जनाको शव भेटिएको छ। खोज तथा उद्धारका क्रममा सोमबार वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला परेको नेपाल राष्ट्रिय पर्वतीय गाइड संघले जानकारी दिएको छ।

हिमलुङ बेसक्याम्पमा आइतबार बिहान हिमपहिरो खस्दा १४ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये दुई जनाको शव सोमबार फेला परेको हो। यसअघि आइतबार नै छेवी भोटे र पासाङ भोटेको शव फेला परेको थियो।

आइतबार फेला परेका दुवै शव सोमबार पोस्टमार्टमका लागि काठमाडौं ल्याइएको छ। थप दुई शव भने घटनास्थलबाट उद्धार गरी आवश्यक प्रक्रिया पूरा गरेर ल्याउने तयारी भइरहेको जनाइएको छ।

सोमबार घटनास्थल पुगेको उद्धार टोलीले खोजी गर्ने क्रममा वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला पारेको हो। हिमपहिरोमा हराइरहेकाहरूको खोजीका लागि उद्धार टोलीले जोखिमपूर्ण हिमाली क्षेत्रमा खोजतलास जारी राखेको छ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार दुईवटा पर्यटकीय कम्पनीमार्फत हिमलुङ क्षेत्रमा बेसक्याम्प निर्माणलगायतका कामका लागि २७ जना कामदार पुगेका थिए। हिमपहिरोमा परेकामध्ये ११ जना सकुशल सम्पर्कमा आएर आइतबार नै सदरमुकाम चामे फर्किएका थिए।

अब फेला परेका चार शवसहित हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ भने १२ जना अझै सम्पर्कविहीन रहेको पौडेलले जानकारी दिएका छन्।

हिमलुङ क्षेत्रमा मौसम तथा भौगोलिक अवस्थाका कारण खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। उद्धार टोलीले बेपत्ता कामदारको खोजीलाई निरन्तरता दिएको छ।

प्रतिक्रिया