सांसद रचना खतिवडाको उजुरीपछि दुर्गा प्रसाईं पक्राउ

सांसद रचना खतिवडाको उजुरीपछि दुर्गा प्रसाईं पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १२ असोज २०८३
  • 684
    Shares

काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक एबम मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले सोमबार बिहान प्रसाईंलाई पक्राउ गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको ब्युरोको भनाइ छ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमा सांसद खतिवडा र उनका दिवंगत छोरा रसिक खतिवडालाई लक्षित गरी गरिएको अपमानजनक टिप्पणीसम्बन्धी उजुरीमा प्रसाईंमाथि अनुसन्धान अघि बढाइएको हो।

जेनजी आन्दोलनका क्रममा रसिक खतिवडाको मृत्यु भएको थियो। त्यसपछि उनकी आमा रचना खतिवडा रास्वपाबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन्। पछिल्लो समय प्रसाईंले सामाजिक सञ्जालमा खतिवडाले ‘छोराको लाससँग सांसद पद साटेको’ आशयको टिप्पणी गरेको भन्दै विवाद उत्पन्न भएको थियो।

उक्त टिप्पणीप्रति आपत्ति जनाउँदै सांसद खतिवडा केही दिनअघि प्रतिनिधिसभाको बैठकमै भावुक भएकी थिइन्। उनले आफू छोराको मृत्युको बदलामा सांसद पदमा नआएको बताउँदै जेनजी आन्दोलनका शहीद तथा घाइतेको न्यायका लागि संसद्मा आवाज उठाउन आफू आएको बताएकी थिइन्।

खतिवडाले शहीदहरूले पूर्ण न्याय पाए आफू सांसद पदबाट राजीनामा दिन तयार रहेकोसमेत बताएकी थिइन्। उनले व्यक्तिगत शोक र आमाको पीडामाथि राजनीतिक टिप्पणी नगर्न आग्रह गरेकी थिइन्।

उजुरीपछि साइबर ब्युरोको अनुसन्धान

प्रसाईंलगायतले सामाजिक सञ्जालमा आफू र आफ्नो परिवारलाई लक्षित गरी अपमानजनक अभिव्यक्ति दिएको भन्दै सांसद खतिवडाले साइबर ब्युरोमा उजुरी दिएको जनाइएको छ। सोही उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरी घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले प्रसाईंमाथि सामाजिक सञ्जालमार्फत गरिएको टिप्पणीको प्रकृति, त्यसको स्रोत तथा कानुनी रूपमा कारबाही गर्न मिल्ने विषय भए–नभएकोबारे अनुसन्धान गर्नेछ। अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।

यसअघि पनि पटक–पटक पक्राउ

प्रसाईं पछिल्लो समय विभिन्न घटनामा पक्राउ पर्दै अदालतको आदेशपछि रिहा हुँदै आएका छन्। गत साउन १८ गते उनलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसबेला साइबर अपराधसहित सार्वजनिक शान्ति तथा राज्यविरुद्धका कसुरमा अनुसन्धान गर्न प्रहरीले म्याद थपको माग गरेको थियो। तर जिल्ला अदालत भक्तपुरले म्याद थप गर्न अस्वीकार गरेपछि उनी रिहा भएका थिए।

त्यसपछि गत भदौ ४ गते प्रहरीले भक्तपुरस्थित प्रसाईंको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा मोबाइललगायतका विद्युतीय उपकरण नियन्त्रणमा लिइएको विवरण सार्वजनिक भएको थियो।

घर खानतलासी र नियन्त्रणमा लिइएका सामानको विषयमा प्रसाईंकी पत्नी उमा प्रसाईंले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्। त्यससम्बन्धी सुनुवाइमा सर्वोच्च अदालतले प्रहरीले नियन्त्रणमा लिएका सामानसहित अदालतमा उपस्थित हुन आदेश दिएको थियो।

सर्वोच्चले प्रसाईंको घरबाहिर अनावश्यक रूपमा सुरक्षाकर्मी खटाई पर्याप्त र वस्तुनिष्ठ आधारबिना निगरानी वा आवतजावतमा अवरोध नगर्नसमेत आदेश दिएको थियो।

पछिल्लो पक्राउ भने सांसद रचना खतिवडाले दिएको उजुरीसँग सम्बन्धित रहेको साइबर ब्युरोले जनाएको छ। अनुसन्धानबाट प्रसाईंमाथि के–कस्तो कानुनी कारबाही अघि बढ्छ भन्ने विषय आगामी प्रक्रियाबाट टुंगो लाग्नेछ।

प्रतिक्रिया