म्याग्दीमा अविरल वर्षाकाकारण ६ जनाको मृत्यु, तीन जना अझै बेपत्ता

म्याग्दीमा अविरल वर्षाकाकारण ६ जनाको मृत्यु, तीन जना अझै बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ असोज २०८३
  • 608
    Shares

म्याग्दी, ११ असोज २०८३।


म्याग्दीमा अविरल वर्षाकाकारण आएको बाढीपहिरोकाकारण ६ जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन्।

असोज ८ गतेदेखि निरन्तर परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा आएको बाढीपहिरोकाकारण ६ जनाको मृत्यु भएको हो भने तीन जना अझै बेपत्ता छन्।

अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका १९ वर्षीय सबिन गर्बुजा, अन्नपूर्ण गाउँपालिका–३ खामका ४५ वर्षीय योमाया पाइजा, मालिका गाउँपालिका–३ डाँडागाउँका ३१ वर्षीय चिरन पुन, सोही स्थानका २८ वर्षीय देवबहादुर पुन, अन्नपूर्ण गाउँपालिका–६ घिनावाङका ५ वर्षीय जेनी पुर्जा र अन्नपूर्ण गाउँपालिका–३ खामकी ७५ वर्षीया शिलकुमारी गर्बुजाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ।

त्यस्तै अन्नपूर्ण गाउँपालिका–६ घिनावाङका ७५ वर्षीय ओमबहादुर तिलिजा, अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका २९ वर्षीय मनोज गर्बुजा र बेनी नगरपालिका–३ भकिम्ली क्षेत्रकी कुमारी विक बेपत्ता रहेको प्रहरीले जनाएको छ। कुमारी विकको उमेर भने खुलाइएको छैन।

७८ जनाको सुरक्षित स्थानमा स्थानान्तरण

प्रतिकूल मौसम र विपद्को अवस्थाका बीच नेपाली सेनाको हेलिकप्टरको सहयोगमा ७८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रभावित क्षेत्रमा थप उद्धार तथा राहत वितरणका लागि प्रहरी परिचालन भइरहेको छ।

यसैबीच बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्डका विभिन्न स्थानमा पहिरो गएर यातायात तथा आवागमन अवरुद्ध भएको छ। सडकमा खसेको पहिरो हटाएर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले प्रभावित क्षेत्रमा रहेका नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्दै उद्धार तथा राहत कार्यमा स्थानीय तह, प्रहरी र अन्य सरोकारवाला निकायसँग समन्वय भइरहेको जनाएको छ।

प्रतिक्रिया