सप्तकोशीमा जलसतह उच्च, कोशी ब्यारेजका ३८ ढोका खोलिए

सप्तकोशीमा जलसतह उच्च, कोशी ब्यारेजका ३८ ढोका खोलिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ असोज २०८३
  • 532
    Shares

पोखरा, ९ असोज २०८३।

सप्तकोशीमा जलसतह उच्च

पहाडी क्षेत्रमा भएको लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह निरन्तर बढेपछि बाढीको जोखिम न्यूनीकरणका लागि कोशी ब्यारेजका ५६ मध्ये ३८ वटा ढोकाहरू खोलिएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हिजो बेलुका १० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख ७३ हजार ९२५ क्युसेक पुगेको छ। त्यसअघि दिउँसो ४ बजेको मापनमा बहाव २ लाख ५६ हजार १० क्युसेक रहँदा ३४ वटा ढोका खोलिएको थियो। पानीको बहाव तीव्र गतिमा बढ्दै गएपछि ३८ ढोका खोल्नु परेको हो।

कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेत स्वरुप रातो बत्ती बाल्ने गरिन्छ। अहिले बहावले खतराको तह पार गरेकाले ब्यारेजमा रातो बत्ती बालिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार हालसम्म ठूलो मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। तर जलसतह निरन्तर उकालो लागिरहेकाले जोखिम कायमै छ।

“ब्यारेजमा रातो बत्ती बालिनु भनेको खतरा सम्भावना भएको अवस्था हो। यसले स्थानीयवासी र सरोकारवालालाई सतर्क रहन संकेत गर्छ,” प्रवक्ता खतिवडाले बताउनुभयो।

तटीय क्षेत्रमा सतर्कता

पानीको सतह बढेसँगै सुनसरी, सप्तरी र उदयपुरका तटीय बस्तीहरूमा डुबान र कटानको जोखिम बढेको छ। प्रशासनले कोशी नदी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन, नदी किनार र जोखिमपूर्ण स्थानमा नजान र माछा मार्ने, नुहाउने जस्ता कार्य नगर्न आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागले कोशी जलाधार क्षेत्रमा अझै केही दिन वर्षा जारी रहने पूर्वानुमान गरेकाले पानीको बहाव अझ बढ्न सक्ने अनुमान गरिएको छ। सुरक्षा निकायहरू हाई अलर्टमा राखिएको छ भने उद्धारका लागि आवश्यक तयारी गरिएको जनाइएको छ।

यसअघि गत भदौ १७ गते पनि पानीको बहाव उच्च हुँदा कोशी ब्यारेजका ३८ वटै ढोका खोलिएको थियो।

प्रतिक्रिया