काठमाडौं, ९ असोज २०८३।
असोज ९-११ गतेसम्म भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनमा पर्ने सबै जलविद्युत आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको छ।
मौसम पूर्वानुमान महाशाखाले गण्डकी क्षेत्र धेरै प्रभावित हुने प्रक्षेपण गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागले हाइ अलर्ट जारी गरेको हो।
विद्युत विकास विभागका महानिर्देशक सागरराज गौतमका अनुसार नेपाल विद्युत प्राधिकरण अन्तर्गतका र निजी क्षेत्रका सबै आयोजनाहरुलाई सतर्क रहन निर्देशन दिइएको छ।
ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले बिहीबार बसेको विद्युत प्राधिकरण सञ्चालक समिति बैठकमा भोटेकोशी बाढीबाट पाठ सिक्दै गण्डकी लगायतका संवेदनशील क्षेत्रका जलविद्युत र विद्युत पूर्वाधारको सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएका थिए ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले गण्डकीका सबै आयोजनालाई २४ घण्टा उच्च सतर्कतामा राखिएको र निजी क्षेत्रको तर्फबाट इप्पानले प्राधिकरणमा प्रतिनिधि खटाएर समन्वय गरिरहेको बताए ।
ऊर्जा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार भोटेकोशी बाढीले १० प्रतिशत बिजुली प्रणाली बाहिर गएपछि सरकारले पूर्वतयारी र पूर्वसूचनामा विशेष ध्यान दिएको हो।