कास्कीमा पनि गर्यो माइकिङ : उच्च सतर्कता अपनाउन आग्रह

कास्कीमा पनि गर्यो माइकिङ : उच्च सतर्कता अपनाउन आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ असोज २०८३
  • 703
    Shares

पोखरा, ८ असोज २०८३ ।

कास्की जिल्लासहित आसपासका क्षेत्रमा आगामी केही दिन भारीदेखि अति भारी वर्षाको सम्भावना रहेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमी बुलेटिनअनुसार २०८३ असोज ८ गतेदेखि ११ गतेसम्म कास्की लगायत आसपासका क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

पूर्वानुमानलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी इकाइहरूले खोला तथा नदी किनारका बस्ती, पहिरोको जोखिम रहेका स्थान र सम्भावित जोखिम क्षेत्रका सर्वसाधारणलाई माइकिङमार्फत उच्च सतर्कता अपनाउन सूचना जारी गरेका छन्।

प्रहरीले वर्षाका कारण खोला तथा नदीमा पानीको बहाव बढ्न सक्ने, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न र मौसमसम्बन्धी सूचना तथा सुरक्षा निकायको आग्रह पालना गर्न अनुरोध गरेको छ।

सम्भावित विपद्का घटनाबाट सुरक्षित रहन स्थानीय बासिन्दालाई आवश्यक सावधानी अपनाउन तथा आपत्कालीन अवस्था आएमा नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायमा तत्काल जानकारी गराउन प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया