पोखरा , ७ असोज २०८३।
परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस जयशंकरबीच अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका उनीहरु बीच भेटवार्ता भएको हो ।
महासभाको उच्चस्तरीय सत्रका क्रममा भएको भेटमा मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।
भेटका क्रममा नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी हित र द्विपक्षीय सहकार्यका विषयमा विचार आदानप्रदान भएको थियो। दुवै पक्षले नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए।
यो भेट नेपालमा पछिल्लो समय आएको विनाशकारी बाढीका कारण ठूलो जनधन तथा पूर्वाधारमा क्षति पुगेको पृष्ठभूमिमा भएको हो। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क पुगेका मन्त्री खनालले बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायबाट सहयोग जुटाउने विषयलाई समेत आफ्नो कूटनीतिक भेटवार्तामा प्राथमिकता दिएका छन्।
महासभाको यही क्रममा खनालले भारत सरकारद्वारा आयोजित ‘Like-Minded Global South Countries and Friends’ को उच्चस्तरीय मन्त्रीस्तरीय बैठकलाई समेत सम्बोधन गरेका थिए। उनले विश्वव्यापी चुनौती सामना गर्न ग्लोबल साउथबीच ऐक्यबद्धता, सामूहिक पहल र दक्षिण–दक्षिण सहकार्यलाई थप बलियो बनाउनुपर्ने धारणा राखेका थिए। साथै, विश्व शासन प्रणालीलाई थप समावेशी र प्रतिनिधिमूलक बनाउनुपर्नेमा जोड दिएका थिए।
यसैगरी, न्युयोर्कमा मन्त्री खनालले अमेरिका, स्लोभाकिया, माल्दिभ्सलगायत मुलुकका अधिकारी तथा मन्त्रीहरूसँग पनि द्विपक्षीय भेटवार्ता गरेका छन्। अमेरिकी पक्षसँगको भेटमा नेपालमा बाढीपछिको पुनःस्थापना र मानवीय सहयोगका विषयमा समेत छलफल भएको थियो।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी छन्। प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।