त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ६ असोज २०८३
  • 589
    Shares

काठमाडौँ, ६ असोज २०८३।

काठमाडौँको त्रिपुरेश्वरमा सोमबार भएको बस आगलागीमा गम्भीर घाइते भएका बस चालक दावा लामाको मृत्यु भएको छ।

आगलागीमा परी घाइते भएका २५ वर्षीय लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको हो। अस्पतालका बर्न प्लास्टिक सर्जन डा. शंकरमान राईले चालक लामाको मृत्यु भएको जानकारी दिएका छन्। काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले पनि लामाको मृत्यु भएको पुष्टि गर्दै साँझ करिब सवा ७ बजे उनको मृत्यु भएको बताए।

सोमबार दिउँसो करिब साढे १२ बजे त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्ट्यान्डमा रोकिराखेको रिद्धिसिद्धि यातायातको बा.५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो र सोही आगलागीमा परेर उनी गम्भीर घाइते बनेका थिए।

प्रहरीका अनुसार ट्राफिक प्रहरीसँग सामान्य विवाद भएपछि चालक आफैँले बसमा आगो लगाएको प्रारम्भिक विवरण छ। आगलागीमा परी काभ्रेको पनौतीका लामासहित अन्य क्षतिको विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

घटनाको सत्यतथ्य पत्ता लगाउन काठमाडौं जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको छ।

समितिमा प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक नरेश सिंह, ट्राफिक प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौंका प्रमुख अनुसन्धान अधिकृत सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदुरका प्रतिनिधि भीम ज्वाला राई तथा रिद्धिसिद्धि यातायात प्रालिका लव केसी सदस्य रहेका छन्।

समितिले घटनाको कारण, आगलागीको अवस्था तथा सम्बन्धित पक्षको भूमिकाबारे अध्ययन गरी प्रतिवेदन बुझाउनेछ।

प्रतिक्रिया