पोखरा, ५ असोज २०८३ ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा सञ्चालन गरेको ‘स्वीप अप्रेसन’का क्रममा ६ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार २०८३ असोज ४ गते साँझदेखि रातिसम्म पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक तथा लेकसाइड क्षेत्रमा गरिएको अप्रेसनका क्रममा पर्यटक तथा सर्वसाधारणलाई सस्तोमा होटल मिलाइदिने भन्दै झोला तान्ने र करकाप गर्ने दुई जना तथा अफलाइन पठाओ र इनड्राइभ सञ्चालन गर्ने चार जना गरी ६ जनालाई नियन्त्रणमा लिइएको हो। उनीहरूमाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यसैगरी, प्रहरीले सञ्चालन गर्दै आएको ‘अपरेशन ३६५’ अन्तर्गत सवारी साधनको स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने, पट्काउँदै हिँड्ने तथा होहल्ला र उच्छृङ्खल गतिविधि गर्ने १७ वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।
नियन्त्रणमा लिइएका मोटरसाइकलमाथि थप अनुसन्धान तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।