मकवानपुरमा ईभी दुर्घटना : चारजनाको घटनास्थलमै मृत्यु, चार जना घाइते (नामावलीसहित)

मकवानपुरमा ईभी दुर्घटना : चारजनाको घटनास्थलमै मृत्यु, चार जना घाइते (नामावलीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३० भाद्र २०८३
  • 988
    Shares

पोखरा, ३० भदौ २०८३ ।

मकवानपुरमा आज दिउसो ईभी गाडी दुर्घटनाग्रस्त हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

काठमाडौंबाट हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड हुँदै वीरगञ्जतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक ईभी आज दिउँसो करिब २ बजे हेटौँडा – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा सडकबाट करिब एक हजार मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको हो।

उक्त दुर्घटनामा परेर वलपरासी पूर्व कावासोतीका २४ वर्षीय नरबहादुर सिंह, धनुषाको धनुषाधाम–४ का ४३ वर्षीय सुरज भट्टराई, पर्साका ४४ वर्षीय भुवनेश्वर साह कानु र बाराका ३२ वर्षीय सरफरोस मियाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। शवलाई पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा ४ जना घाइते भएका छन्।

घाइते हुनेमा हेटौँडाकी कल्पना तामाङ, बाराकी २१ वर्षीया बबियाकुमारी यादव, चालक बारा कलैयाका २० वर्षीय अमिर अन्सारी र मकवानपुरका राजकुमार स्याङतान रहेका छन्।

काफ्लेका अनुसार तामाङको ढाड, खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको छ र अवस्था गम्भीर छ। त्यस्तै बोल्न नसक्ने स्याङतान र चालक अन्सारीको अवस्था पनि गम्भीर छ। यादवको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये यादवको हेटौँडा अस्पतालमा र अन्य तीन जनाको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ।

दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी खानीखेत, इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला प्रहरी कार्यालयबाट उद्धार टोली खटिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा २१ जनाको टोलीले उद्धार गरेको थियो।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया