खोटाङमा बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङमा बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३० भाद्र २०८३
  • 836
    Shares

पोखरा, ३० भदौ २०८३ ।

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदर धपाउने क्रममा गोली लागेर एक व्यक्तिको ज्यान गएको छ ।

मृत्यु हुनेमा खार्मीको निङ्गालेस्थित महभीरका ५२ वर्षीय श्यामबहादुर तामाङ रहेका छन् । मकैबारीमा पसेको बाँदरलाई धपाउने क्रममा घटना आज मंगलबार दिउँसो करिब २ बजे सोही ठाउँका ५४ वर्षीय भलबहादुर तामाङले प्रहार गरेको भरुवा बन्दुकको गोली टाउकोमा लाग्दा श्यामबहादुरको घटनास्थलमै मृत्यु भएको हो ।

गोली प्रहार गर्ने भलबहादुरका अनुसार दैनिकजसो मकैबारीमा बाँदर पस्ने गरेको थियो । आज पनि बाँदर आएपछि दुई जना मिलेर घेरा हालेर धपाउन गएका थिए ।

“मकैबारीमा दैनिकजसो बाँदर आउने गथ्र्यो । साथी श्यामबहादुर र म धपाउन गएका थियौँ । वल्लो डाँडा र पल्लो डाँडाबाट छेकारो काटेर धपाउने क्रममा मैले बाँदरलाई ताकेर भरुवा बन्दुक प्रहार गरेको थिएँ । त्यहीबेला साथी आइपुगेछ । बाँदरको ठाउँमा साथीको टाउकोमा लागेर घटनास्थलमै मृत्यु भयो”, भलबहादुरले भने ।

घटनापछि आफैले प्रहरीलाई फोन गरेर जानकारी गराएको उनले बताएका छन् । उनको जानकारीका आधारमा प्रहरी चौकी खार्मीको टोली घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित गरेको छ ।

वडा सदस्य वीरेन्द्र राईका अनुसार जिल्लाबाट प्रहरी टोली आइपुगेपछि सर्जमिन गरी शव र बन्दुक प्रहार गर्ने व्यक्तिलाई जिल्ला पठाउने तयारी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख, प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले घटनाबारे जानकारी पाउनासाथ अनुसन्धानका लागि प्रहरी निरीक्षक निराजन बस्नेतको नेतृत्वमा टोली परिचालन गरिएको जानकारी दिए ।

प्रतिक्रिया