प्रधानमन्त्री र गृहमन्त्रीबिरुद्ध कडा नाराबाजी गर्दै दुर्गा प्रसाई विमानस्थलबाट बाहिरिए

प्रधानमन्त्री र गृहमन्त्रीबिरुद्ध कडा नाराबाजी गर्दै दुर्गा प्रसाई विमानस्थलबाट बाहिरिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २९ भाद्र २०८३
  • 646
    Shares

काठमाण्डौ, २८ भदौ २०८३ ।

नागरिक बचाउ महा अभियानका संयोजक दुर्गा प्रसाईँ प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङबिरुद्ध कडा नाराबाजी गर्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बाहिरिएका छन्।

झापाबाट काठमाडौं फर्किएका प्रसाईँलाई विमानस्थल परिसरमा पत्रकारसँग कुराकानी गर्न नदिएपछि उनी आक्रोशित भएर प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङबिरुद्ध कडा नाराबाजी गर्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिएका हुन्।

विमानस्थलमा प्रसाईँको प्रतीक्षामा युट्युबर तथा समर्थकहरू समेत जम्मा भएका थिए। प्रहरीले विमानस्थल परिसरमा पत्रकारसँग कुराकानी गर्न रोक लगाएपछि प्रसाईँले आफ्ना समर्थकहरूसहित प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङविरुद्ध नाराबाजी गरेका थिए।

प्रसाईँले ‘बालेन चोर’ तथा गृहमन्त्री गुरुङलाई लक्षित गर्दै आपत्तिजनक नारा लगाएका थिए। उनले प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै ‘संसद भवन र सिंहदरबार जलाइँदा प्रहरी कहाँ थियो ?’ भन्दै आक्रोशसमेत पोखेका थिए।

नाराबाजी र भीड बढ्दै गएपछि विमानस्थल परिसरमा प्रहरी र प्रसाईँका समर्थकबीच घम्साघम्सीको अवस्था सिर्जना भएको थियो। सो क्रममा नागरिक बचाउ महाअभियानका बाग्मती संयोजकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।

अभियानका नेता माधव खतिवडाले भने प्रहरीले प्रसाईँको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको आरोप लगाएका छन्। उनका अनुसार एक व्यक्तिको अभिव्यक्तिलाई लिएर राज्यले देखाएको व्यवहार आपत्तिजनक रहेको छ।

यता, काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले भने प्रसाईँलाई पक्राउ नगरिएको स्पष्ट पारेका छन्। उनका अनुसार विमानस्थलमा अवस्था तनावपूर्ण बन्न थालेपछि प्रसाईँलाई सुरक्षित रूपमा घरतर्फ पठाइएको हो।

विमानस्थलबाट बाहिरिने क्रममा समेत प्रसाईँले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेपछि घटनाले राजनीतिक वृत्तमा थप चर्चा पाएको छ।

प्रतिक्रिया