काठमाडौँ, २९ भदौ २०८३ ।
। नेपाली कांग्रेसले १४औँ महाधिवेशनपछि शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा रहेका नेताहरूलाई पार्टीको १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुने बाटो खुला गरेको छ ।
महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनअघि पार्टीको तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका नेताहरूलाई विधानबमोजिम केन्द्रीय कार्यसमितिको सदस्यको हैसियतमा १५औँ महाधिवेशन प्रक्रियामा सहभागी गराउन आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको हो ।
कांग्रेसले जारी गरेको निर्णयमा महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले पार्टीभित्रका असहमति र मतभेद समाधान गर्ने उपयुक्त स्थान महाधिवेशन नै भएको उल्लेख छ । महाधिवेशन प्रक्रियामा पार्टीमा रहन चाहने कुनै पनि सदस्य नछुटून् र सबैले सहभागी हुने वातावरण बनोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसको १५औँ महाधिवेशनको वडा अधिवेशन असोज ३ र ४ गते तथा महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा गर्ने कार्यतालिका छ ।
बैठकले विशेष महाधिवेशन सम्पन्न हुनुअघि तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका नेताहरूलाई केन्द्रीय कार्यसमितिको सदस्यको हैसियतमा महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णयसँगै उनीहरूको सहभागिताका लागि विधानअनुसार आवश्यक व्यवस्था गर्ने निर्णय गरेको हो ।
यसअघि कांग्रेसले सदस्यता अद्यावधिक प्रक्रियामा छुटेका क्रियाशील सदस्यहरूलाई समेत महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरिसकेको थियो । पार्टीले २०८२ पुस २१ गतेसम्म सदस्यता व्यवस्थापन प्रणालीमा प्रविष्ट भएका तर विभिन्न कारणले अद्यावधिक हुन छुटेका क्रियाशील सदस्यलाई, पार्टी परित्याग गरेका, अनुशासनको कारबाहीमा परी सदस्यता गुमाएका तथा प्रचलित कानुनबमोजिम पार्टी सदस्यता लिन नमिल्नेबाहेक, महाधिवेशन प्रक्रियाबाट वञ्चित नगर्ने निर्णय गरेको जनाएको छ ।
कांग्रेस कार्यसम्पादन समितिले महाधिवेशनलाई प्राविधिक प्रक्रिया मात्र नभई राजनीतिक महाउत्सवका रूपमा लिँदै सबैको सहज र उत्साहपूर्ण सहभागिताको वातावरण बनाउनुपर्नेमा जोड दिएको छ । पार्टीभित्र देखिएका असहमति र चासोलाई संवाद, सहमति र सहकार्यबाट सम्बोधन गर्न निरन्तर पहल भइरहेको पनि निर्णयमा उल्लेख छ ।
यसै क्रममा महाधिवेशन संयोजनका लागि उपयुक्त संयन्त्र निर्माण, सदस्यता व्यवस्थापन केन्द्रीय समिति, केन्द्रीय निर्वाचन समिति तथा अधिवेशन व्यवस्थापन समितिमा सबै पक्षको सहभागितालगायतका विकल्पमा समेत पार्टीले लचकता अपनाउँदै आएको कांग्रेसले जनाएको छ ।
बैठकले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित सदस्यता व्यवस्थापन केन्द्रीय समितिले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको नामावली सभापति गगनकुमार थापासमक्ष प्रस्तुत गरेकामा उक्त नामावलीलाई स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।
बैठकमा कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले आफ्नो पदबाट दिएको राजीनामाबारे सभापति थापाले जानकारी गराएका थिए ।
बैठकमा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डिला संग्रौला पन्त र योगेन्द्र चौधरी तथा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, महेन्द्र यादव, जीवन परियार, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, चन्द्रकान्त भण्डारी, अमृत अर्याल, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, अब्दुल सत्तार, राजीव ढुंगाना, भरतकुमार शाह, प्रवक्ता देवराज चालिसे र मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले आ–आफ्नो धारणा राखेका थिए ।
कांग्रेसले असोज ३ गतेदेखि वडा तहबाट सुरु हुने महाधिवेशन प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन पार्टीका सम्पूर्ण सदस्य, समर्थक तथा शुभेच्छुकलाई अपिलसमेत गरेको छ ।


