पोखरा , २१ साउन २०८३ ।
भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ आगामी साउन ३१ गते (अगस्ट १६) पाँचदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा हुने भ्रमणका क्रममा जनरल सेठले राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्रीलगायत उच्च सरकारी तथा सैनिक नेतृत्वसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै, उनले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डालगायत विभिन्न सैनिक कार्यक्रममा पनि सहभागिता जनाउने अपेक्षा गरिएको छ।
भ्रमणको मुख्य आकर्षणका रूपमा जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथी (जनरल) को दर्ज्यानी चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ। नेपाल र भारतका सेनाबीच १९६९ देखि एकअर्काका सेनाप्रमुखलाई मानार्थ जनरलको उपाधि प्रदान गर्ने परम्परा रहँदै आएको छ। यसलाई दुई देशबीचको ऐतिहासिक सैनिक सम्बन्ध र आपसी विश्वासको प्रतीकका रूपमा लिइन्छ।
जनरल धीरज सेठले गत असार १५ (जुन ३०) देखि भारतीय सेनाको ३१औँ सेना प्रमुखको जिम्मेवारी सम्हालेका हुन्। उनी त्यसअघि भारतीय सेनाका उप–सेनाप्रमुख (Vice Chief of Army Staff) थिए। करिब चार दशक लामो सैनिक सेवाका क्रममा उनले दक्षिण–पश्चिमी र दक्षिणी कमान्डको नेतृत्व गर्नुका साथै रणनीतिक योजना, क्षमता विकास तथा आधुनिकीकरणसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारीहरू निर्वाह गरेका छन्।
नेपाल भ्रमणले दुई देशका सेनाबीचको दीर्घकालीन सहकार्य, व्यावसायिक सम्बन्ध तथा रक्षा सहयोगलाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास गरिएको छ।