रमेश लेखकले जाँचबुझ आयोगलाई दिएको बयानमा के भने ? (हेर्नुस बयानको पूर्णपाठ)

रमेश लेखकले जाँचबुझ आयोगलाई दिएको बयानमा के भने ? (हेर्नुस बयानको पूर्णपाठ)


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १४ पुष २०८२
  • 7.6K
    Shares

पोखरा , १४ पुष २०८२।

जेनजी आन्दोलनका नाममा भदौ २४ गते भएको घटना नियोजित षडयन्त्र भएको तत्कालीन गृहमन्त्री रमेश लेखकले बताएका छन्।

सोमबार जेनजी आन्दोलन जाँचबुझ आयोगमा दिएको लिखित बयानमा लेखकले जेनजी आन्दोलनको भोलिपल्ट नियोजित रुपममा आक्रमण भएको बताएका छन्। भदौ २३ गते जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा १९ जन आन्दोलनकाकारीको मृत्यु भएपछि भोलिपल्ट भदौ २४ देशव्यापी रुपमा आगजनी र तोडफोड भएको थियो। 

त्यसबारे आयोगलाई दिएको बयानमा लेखकले कुनै नेपालीले कल्पना गर्न नसक्ने घटना भनेका छन्। ‘मेरो राजीनामापछि भदौ २४ गतेका दिन जे जस्तो हिंसात्मक एवं राष्ट्रिय अस्तित्व, स्वाभिमान र लोकतन्त्रविरुद्धका घटना भए, ती कुनै देशभक्त नेपालीले कल्पना गर्न नसक्ने कुरा थिएनन्,’ तत्कालीन गृहमन्त्री लेखकले बयानमा भनेका छन्, ‘राष्ट्रका प्रमुख निकायहरू सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपतिको भवनसहित राज्यका तीनै प्रमुख अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका जलाएर खरानी बनाउने दुस्साहस कुनै नेपाली मनले गर्न सक्छ भन्ने म कल्पना गर्न सक्तिनँ।’

यसलाई उनले नियोजित षडयन्त्र भनेका हुन्। लेखकले भनेका छन्, ‘लोकतन्त्रमा शक्ति सन्तुलन र पृथकीकरणको सिद्धान्तका प्रतिनिधि संस्थामाथिको आक्रमण जेनजी पुस्ताको सोच र योजनाभन्दा बिल्कुल बाहिरको विषय हो भन्ने म ठान्दछु। यो नियोजित षडयन्त्र नै थियो। यो राष्ट्र र लोकतन्त्रमाथिको नियोजित आक्रमण हो भन्ने मेरो ठम्याइँ छ।’

भदौ २३ र २४ गते भएका घटना क्षणिक आवेगमा मात्रै नभएको उनको ठम्याइँ छ। ‘देशभर एकसाथ भएको यो विनास तत्कालीन घटनाबाट उत्पन्न रीस र आवेगको उपज मात्र थियो भन्ने आधार म देख्दिनँ,’ जेनजी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै उनले भनेका छन्, ‘पूर्वतयारीका साथ सुनियोजित रुप्ले गरिएका आक्रमण, तोडफोड र आगजनीका घटना क्षणिक आक्रोश र आवेगमा हुनै सक्दैनन्।’

जेनजी पुस्ताले राखेका माग जायज भएको उनको भनाइ छ। जेनजी आन्दोलनका नाममा भएका घटना छानबिन गरेर त्यसमा संलग्न जोसकुैलाई पनि कारबाही गर्नुपर्नेमा उनले जोड दिएका छन्। 

‘जेनजी पुस्ताको असल मनोभावनामा घुसपैठ भएर जसरी जे जस्ता दुःखद् घटना भए र राज्यका ऐतिहासिक तथा अमूल्य संरचनाहरूमाथि जसरी आक्रमण भए, त्यो तत्कालीन आवेगको उपज थियो भन्नु ती पवित्र मनोभाव भएका युवाप्रति नै अन्याय हुन्छ,’ तत्कालीन गृहमन्त्री लेखकले भनेका छन्, ‘भदौ २४ गतेको घटनालाई युवाको मागभन्दा पृथक ढंगले हेर्नुपर्दछ र आपराधिक कार्यमा संलग्न जोसुकैलाई कारबाही गर्नुपर्दछ भन्ने म ठान्दछु।’ 

निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आनदोलनमा भएका घटनाबारे छानबिन गर्न बनेको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकारी नपाएको बताएका छन् ।

 सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै लेखकले आफूमाथि कुन कानुनअनुसार कुन प्रयोजनका लागि र कति समय स्थानहद गरिएको हो भन्नेबारे अहिलेसम्म जानकारी नपाएको बताए ।  

‘संविधान, कानुनबमोजिम के कारणले कुन प्रयोजनका लागि कति समय स्थानहद गरिएको हो,’ लेखकले भने, ‘त्यो मैले जानकारी पाउनु पर्ने हो । तर अहिलेसम्म जानकारी पाएको छैन ।’

आफू कानुन मान्ने नागरिक र आफूमाथि प्रश्न उठेपछि जवाफ दिने पार्टीको कार्यकर्ता भएको बताए । ‘मेरामाथि प्रश्न उठ्यो भने जवाफ दिनुपर्छ भन्ने पार्टीको कार्यकर्ता हो,’ लेखकले भने । लेखक सोमबार नै आयोगमा बयानका लागि उपस्थित भएका थिए । 

गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष सोमबार पूर्वगृहमन्त्री रमेश लेखकले लिखित धारणा पेश गरेका छन् ।

लिखित धारणा पेश गर्ने क्रममा उनले आन्दोलनका क्रममा भएको आगजनीमा आफ्नो पिताले बनाएको घर खरानी भएको र सोही घटनासँग सम्बन्धित रहेर आफ्नी आमाको निधन भएको बताएका छन् ।

आयोगलाई बुझाएको लिखित जवाफमा लेखकले महेन्द्रनगर र काठमाडौँका घरहरूमा आगजनी हुँदा आफूलाई ‘खुकुरीको मार अचानोलाई मात्र थाहा हुन्छ’ भनेजस्तै पीडा भएको उल्लेख गरेका छन्।

उनले बयानमा भनेका छन्, ’खासमा ती घर मैले आफैँ बनाएको पनि होइन। महेन्द्रनगरका दुवै घर पिताजीले बनाउनु भएको हो भने काठमाडौँको घर पनि पैतृक सम्पत्ति समेतको आर्जनबाट बनाइएको हो। पिता पुर्खाको सम्पत्ति खरानी बनाइदिँदाको पीडा खुकुरीको मार अचानोलाई मात्र थाहा हुन्छ भने जस्तै भएको छ।’

लेखकले आगजनीको घटनाभन्दा पनि आफ्नी आमा गुमाउनु परेको पीडा गहिरो भएको बताएका छन्। भदौ २४ गतेको घटनामा प्रदर्शनकारीको आक्रमणबाट जोगाउन सिकिस्त बिरामी आमालाई अक्सिजन विना नै सार्नुपरेको उनले उल्लेख गरेका छन्।

उनले भनेका छन्, ’मेरी वृद्ध र अक्सिजन लिइरहनुपर्ने सिकिस्त बिरामी आमालाई लामो समय अक्सिजन बिना नै राखी अस्पताल पुर्‍याउनु परेको कारणले केही दिनपछि दिवङ्गत हुनु भयो।’

लेखकले आगजनीमा आफ्नो घरसँगै १० वर्षे सशस्त्र द्वन्द्वपछिको शान्ति वार्ता, अन्तरिम संविधान र वर्तमान संविधान निर्माणका क्रममा सङ्कलन गरेका ऐतिहासिक टिपोट र दस्ताबेजहरू जलेर नष्ट भएको बताएका छन्।

आगजनीमा करिब पाँच हजार पुस्तक र महत्त्वपूर्ण कागजात खरानी भएको उनले जानकारी दिए। ’तैपनि सिङ्गो देश नै खरानी बनाइएका बेला मेरो व्यक्तिगत पीडालाई गौण ठानेको छु,’ उनले उल्लेख गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार