पोखरा, ९ असोज २०८२ ।
चट्याङ लागेर आमाबाबुसंगै सुतेकी चार वर्षीया बालिकाको निधन भएको छ भने उनका आमाबाबु घाइते भएका छन्।
धबार राति चट्याङ पर्दा गुल्मीको मदाने गाउँपालिका–५ झ्यानपानीमा आमाबाबुसंगै सुतेकी चार वर्षीया बालिका रियासा विकको निधन भएको हो। उनको घटनास्थलमै निधन भएको प्रहरीले जानकारी दिएको छ।
चट्याङ लागेर बालिकाका २३ वर्षीया बुवा नेरसिंह र २२ वर्षीया आमा सुन्तली घाइते भएका र उनीहरुको स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् थप उपचारको लागि जिल्ला अस्पताल प्यूठान लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
त्यसैगरि गुल्मीकै इस्मा गाउँपालिका-४ दोहोलीमा पनि हिजो परेको चट्याङले लागेर तीन जना घाइते भएका छन्।।
इस्मा ४ की ४६ वर्षीया निर्मला खत्री, इस्मा-५ बेसारीकी २५ वर्षीया कालीका खत्री र धुर्कोट गाउँपालिका-७ वाग्ला धरमपानीका ५८ वर्षीय कृष्णप्रसाद पन्थी चट्याङ लागेर घाइते भएका प्रहरीले जनाएको छ।
घाइतेमध्ये खत्रीद्वयको घरमै बसिरहेको अवस्थामा र पन्थीको मकै केलाउने क्रममा घरको आँगनमा चट्याङ लाग्दा घाइते भएका हुन्। घाइते सबैको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ।
यसैबीच चट्याङ लागेर गुल्मीको मालिका गाउँपालिका-४ खामदेशस्थित सामुदायिक वनमा दुर्गाप्रसाद अर्याल र चिरञ्जीवी अर्यालका तीन वटा गोरुसमेत मरेका छन्।