पोखरा १७ साउन २०८२।
सालको रुखले किचेर सिन्धुलीमा ओत लागि बसेका दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१, बस्तीपुरमा झरीबाट बच्न ओत लागिरहेका बालबालिकामाथि सालको रुख ढलेर किच्दा दुई बालबालिकाको मृत्यु भएको हो भने तीन जना घाइते भएका छन्।
उक्त घटनामा नौ वर्षीय सार्की थिङ र १६ वर्षीया सन्ता गोलेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए। सोही घटनामा १४ वर्षीया सिर्जना माया र १५ वर्षीया सन्ध्या भोललाई थप उपचारका लागि हेटौडातर्फ रिफर गरिएको छ भने सात वर्षीय सुशील थिङको स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
शुक्रबार दिउँसो साढे ३ बजेतिर वर्षाका कारण ओत लाग्न टहरामा बसेका पाँच बालबालिकामाथि अचानक सालको ठूलो रुख ढलेर किचन पुगेको थियो। स्थानीयवासीका अनुसार बालबालिका बस्ती नजिकैको टौवामा ओत लाग्दै गर्दा पहिरो र झरीका कारण जमिन भिजेको र त्यही कारण रुख ढलेको हुनसक्ने अनुमान गरिएको छ।