पोखरा, ११ साउन २०८२।
पोखरा महानगरपालिका वडा नम्बर २७ रिठ्ठेपानीस्थित सुकुम्बासी बस्तीमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ५ रिभान स्थायी घर भई हाल रिठ्ठेपानीस्थित सुकुम्बासी बस्तीमा २० / २१ वर्षदेखि बस्दै आएका ५८ वर्षीय जंङ्गे सार्कीले आफ्नी ५३ वर्षीया श्रीमती छुनु भन्ने जमुना नेपाली सार्कीको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले आइतबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार , स्थानीयले साउन ८ गते जंङ्गे सार्कीको घरकोठामा दुर्गन्ध फैलिएको भन्दै प्रहरीमा खबर गरेका थिए। त्यसपश्चात राति साढे आठ बजे घटनास्थलमा पुगेको प्रहरीले जंङ्गे सार्कीकी श्रीमती जमुना नेपाली आफ्नै सुत्ने कोठामा मृत अवस्थामा भेट्टाएका थिए ।
शब सडेगलेको र दुर्गन्धित अवस्थामा भेटिए पछि तत्काल अनुसन्धानका लागि श्रीमान जंङ्गे सार्कीलाई पक्राउ गरिएको एसपी ओलियाले जानकारी दिए। प्रहरी नियन्त्रणमा पुगेका जंङ्गे सार्कीले श्रीमतीको मृत्यु भएको दुई दिन हुँदासम बेवास्ता गरेको खुलेको बताइएको छ।
एसपी ओलियाका अनुसार, घटना साउन ६ गतेको हो । जंगे सार्कीले खाना खाएपछि एक गिलास मदिरा सेवन गरेका थिए । सोही क्रममा जग्गा बेच्ने विषयमा श्रीमान÷श्रीमतीबीच विवाद चर्कियो । विवादकै क्रममा आवेशमा आएका जंङ्गे सार्कीगेले जमुनालाई दुई मुक्का हाने। त्यही मुक्का साहना नसकेर जमुना भित्तामा ठोक्किन पुगिन् । तर जंङ्गेले त्यो कुराको ख्याल नै नगरी घरबाहिर रहेको आफ्नै टिनको टहरामा गएर सुते ।
भोलिपल्ट, अर्थात् साउन ७ गते उनी बिहानै उठेर छिमेकीको घरमा चिया पिउन गए र त्यहाँबाट ठेकेदारलाई भेटेर पैसा लिन भन्दै शिसुवातिर लागे । दिनभर ठेकेदारलाई भेट्न नसकेको भन्दै उनी साँझ घर फर्किए, खाना बनाएर एक्लै खाए, तर श्रीमतीको अवस्थाबारे कुनै चासो नदेखाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ओलीयाले जानकारी दिए ।
साउन ८ गते पनि जंगेको त्यसै गरी चल्यो । उनी बिहान उठेर छिमेकी मामा पर्नेको घरमा चिया खान गए र फेरि ठेकेदारलाई भेट्ने बहानामा शिसुवातिर लागे । तर, दुई दिनसम्म कोठामा थुनिएकी जमुनाको शव सड्न थालिसकेको थियो । साँझ करिब सबा ५ बजे कोठाबाट दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी घटनास्थलमा पुग्दा जमुनाको शव सडिगलेको अवस्थामा फेला परेको एसपी ओलीयाले जानकारी दिए । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा शवको पोस्टमार्टम गर्दा रिपोर्टमा टाउकोमा लागेको गहिरो चोटका कारण मृत्यु भएको पुष्टि भएको एसपी ओलियाले बताए।
प्रहरीका अनुसार , जंङ्गेले करिब ३५–३६ वर्षअघि पहिलो विवाह गरेका थिए । पहिलो श्रीमतीले एक वर्षको छोरा छाडेर अन्तै गएपछि उनले जमुनासँग दोस्रो विवाह गरेका थिए ।
जमुनाले नै जंङ्गेको पहिलो श्रीमतीतर्फको छोरालाई हुर्काइन् । छोरा अहिले विवाह गरी आफ्नो परिवारसहित पुरानो घर रिभानमा बस्दै आएको एसपी ओलीयाले जानकारी दिए । जंङ्गे आफु ज्यामी काम गर्ने र श्रीमती जमुनाले घरधन्दा गरेर जिविको चलाउदै आएका थिए । उनीहरुको आर्थिक अवस्था निकै कमजोर रहेको स्थानीयले बताएका छन् ।
एसपी ओलियाका अनुसार पक्राउ परेका जंगे सार्कीविरुद्ध कर्तव्य ज्यान मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।