पोखरा, ११ साउन २०८२।
ताप्लेजुङमा आज बिहान भएको बोलेरो जिप दुर्घटनामा एक शिक्षिकाको मृत्यु भएको छ। सदरमुकाम फुङलिङबाट सिरिजङ्गा गाउँपालिकाको भञ्ज्याङतर्फ जाँदै गरेको बोलेरो जिप आज बिहान करिब ९ बजे फुङलिङ नगरपालिका ११ फावाखोलाको बनपाला सडक खण्डमा दुर्घटनाग्रस्त हुँदा एक जना शिक्षिकाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएकी तेह्रथुम जिल्ला म्याङ्लुङ नगरपालिका ३ घर भै फावाखोलाको सिकैचास्थित सरस्वती माविमा कार्यरत शिक्षिका ३० वर्षीया भावना विकको उपचारार्थ अस्पताल लैजाँदै गर्दा मृत्यु भएको वडाध्यक्ष युवराज भट्टराईले जानकारी दिए।
सोहि दुर्घटनामा परेर घाइते भएका जिप चालक सविन विष्टलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइँएको प्राप्त जानाकारीमा उल्लेख छ।
उक्त घटना सम्बन्धमा आबश्यक अनुसन्धान भैरहेको प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।