पोखरा, ९ साउन २०८२।
गएराती सिराहामा दाजुको हत्या गरेर भाइ जंगलतिर भागेका छन्।
सिराहाको गोलबजार नगरपालिका ३ मुसहर्नियाँ पुराण्डिहका २५ वर्षीय श्याम सदाले बिहीबार राति दाइ ३५ वर्षीय लेलहा भन्ने मोतिराम सदाको हत्या गरेर जंगलतिर भागेका हुन्।
श्याम र उनकी श्रीमती अन्दाजी १९ वर्षीय कौशिल्या देवी सदाबिच घरायसी झगडा भएको थाहा पाएर मिलाउन गएका दाजु लेलहा भन्ने मोतिराम सदालाई खुकुरीले हानेर हत्या गरेको स्थानीयलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर गोविन्दप्रसाद साहले जानकारी दिए।
खुकुरी प्रहारबाट छातीमा गम्भीर घाउ लागेका मोतिरामलाई तत्काल उपचारका लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहान पुर्याउँदा अस्पतलले मृत घोषणा गरेको थियो। खुकुरी प्रहार गरी तत्काल जंगलतर्फ भागेका श्यामको रातिबाटै खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
शव पोष्टमार्टमका लागि सोही लहान अस्पतालमा राखिएको छ।