पोखरा, ८ बैशाख २०८२।
मोटरसाइकलसहित धादिङस्थित कृष्णभिरबाट त्रिशुली नदीमा खसेका दुई जना युवा मध्ये एक जना युवाको मृत्यु भएको छ।
धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरबाट शनिबार साँझ ५ः२० बजे त्रिशूलीमा खसेको बा.प्र.०२–०२४ प ४०५४ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएको हो ।
त्रिशूली नदीबाट उद्धार गरिएका सिन्धुली जिल्लाको तिनपाटन गाउँपालिका–९ निवासी २६ वर्षीय मिनबहादुर तामाङको मृत्यु भएको धादिङ प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए। उक्त मोटरसाइकल अनियन्त्रित भई सडकबाट झण्डै ३०० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो।
सो सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेनिघाट, प्रहरी चौकी जोगीमाराका साथै गजुरीबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो।
प्रहरी निरीक्षक हरिकबहादुर खड्काको कमान्डमा बेनिघाटबाट, प्रहरी निरीक्षक रामशरण बस्नेतको कमान्डमा जोगीमाराबाट र प्रहरी नायब उपरीक्षक विकास थापाको कमान्डमा गजुरीबाट खटिएको ११ जनाको टोलीले खोजी गर्दा तामाङ नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि गजुरी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
मोटरसाइकललाई घटनास्थलबाट निकालेर इलाका प्रहरी कार्यालय बेनिघाटमा राखिएको छ।
मोटरसाइकलमा सवार अर्का एक जना बेपत्ता भएको आशंकामा सशस्त्र प्रहरीको गोताखोरले खोजी गरिरहेको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।