पोखरा, २३ चैत २०८१।
काठमाण्डौ भित्रिदै गरेको ठुलो मात्राको लागू औषधसहित एउटा भारतीय नम्बर प्लेटको एम्बुलेन्स र छ जना भारतीयलाई प्रहरीले शनिबार बिहान ललितपुरबाट पक्राउ गरेको छ।
वीरगन्जबाट काठमाडौँतर्फ आइरहेको बीआर ०५ पीए ०४२१ नम्बरको भारतीय एम्बुलेन्सबाट करीब नौ हजार पांच सय थान अवैध लागुऔषधसहित छ जना भारतीय ललितपुरबाट पक्राउ परेका हुन्।
शनिबार बिहान १:५५ बजे ललितपुरको बागमती गाउँपालिका वडा नम्बर ३ भट्टेडाँडा छपेलीस्थित कान्ति लोकपथमा रहेको प्रहरी चौकी भट्टेडाँडाको चेकपोस्टमा खटिएको प्रहरी टोलीले नियमित सवारीसाधन चेकजाँच गर्ने क्रममा उक्त एम्बुलेन्समा अबैध रुपमा काठमाण्डौ ल्याइदै गरेको अवैध लागुऔषध ट्रामाडोल क्याप्सुल नौहजार चारसय अथ पत्तामा ९४ हजार ८० वटा बरामद गरिएको जानकारी प्रहरीले दिएको छ।
प्रहरीले उक्त भारतीय नम्बर प्लेटका चालक भारत, बिहार प्रान्त, पूर्वी चम्पारण, मोतिहारी जिल्ला रक्सौल नगर वार्ड नं. ५ पछियाटोल स्थायी वतन भएका वर्ष २२ का मोहम्मद उमर सिद्दिकी, मोतिहारी जिल्लाकै टुमरिया ग्राम पञ्चायत वार्ड नं. ५ स्थायी वतन बताउने वर्ष २० का समिर आलम, मोतिहारी जिल्लाकै राजाबजार नगर वार्ड नं. ३३ स्थायी वतन बताउने वर्ष ३३ का मोहम्मद मुन्ना अन्सारी र मोतिहारीकै पलानवा ग्राम पञ्चायत वार्ड नं. ९ स्थायी वतन बताउने वर्ष ४५ का नोर्जान खातुन समेत छ जनालाई पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ। उनीहरूका साथमा रहेका तीनवटा मोबाइल पनि प्रहरीले जफत गरेको छ।
ललितपुरको भट्टेडाँडा छपेलीस्थित कान्ति लोकपथमा रहेको प्रहरी चौकी भट्टेडाँडाको चेकपोस्टमा नियमित सवारी चेकजाँच गर्ने क्रममा उक्त भारतीय एम्बुलेन्सका चालक मोहम्मद उमर सिद्दिकी एम्बुलेन्सबाट ओर्लिएर भाग्ने प्रयास गरेपछि समातेर प्रहरीले अनुसन्धान शुरु गरेको बताइएको छ।
प्रहरीले सोधपुछका क्रममा एम्बुलेन्सको तलासी लिँदा एम्बुलेन्सको बिरामी राख्ने ठाउँमा कालोमा सेतो धर्का भएको र कालोमा हरियो धर्का भएको समेत गरी दुईवटा छुट्टाछुटै झोलामा अवैध लागुऔषध ट्रामाडोल क्याप्सुल लुकाईछिपाई ल्याएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।
बरामद एम्बुलेन्स तथा सामानसहित पक्राउ परेका मानिसहरूलाई कारबाहीका लागि प्रहरी वृत्त चापागाउँ ललितपुरमा दाखिला गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।