भारतीय अन्डर वर्ल्ड डन लरेन्स विश्नोईको नाममा फिरौती माग गरेको आरोपमा भगौडा सैनिक पक्राउ

भारतीय अन्डर वर्ल्ड डन लरेन्स विश्नोईको नाममा फिरौती माग गरेको आरोपमा भगौडा सैनिक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २० चैत्र २०८१
  • 7.1K
    Shares

पोखरा, २० चैत २०८१।

भारतीय ग्याङ स्टार अन्डर वर्ल्ड डन लरेन्स विश्नोईको नाममा फिरौती माग गर्ने एक जना भगौडा सैनिक बाँकेबाट पक्राउ परेका छन्।

२०५९ सालमा जागिर छाडेर भागेका नेपाली सेनाको भगौडा सैनिक समेत रहेका सुर्खेतको भेरीगंगा नगरपालिका–७ काठेघारी घर भएका ४१ वर्षीय रामबहादुर बिसी (बुढा क्षेत्री)लाई भारतीय डन लरेन्स विश्नोईको नाममा फिरौती माग गरेको आरोपमा इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेबाट खटिएको प्रहरी टोलीले बाँकेबाट पक्राउ गरेको हो।

पछिल्लो समय कोहलपुर नगरपालिका-५ मा डेरा गरी बस्दै आएका बिसीले सामाजिक सञ्जाल ह्वाट्स एप प्रयोग गरी विश्नोईको नाम लिँदै पाँच करोड भारु (८ करोड नेपाली रुपैयाँ) फिरौती माग गरेको पाइएको कोहलपुरका डीएसपी धर्मराज भण्डारीले बताए।

भारतीय आधारकार्ड समेत लिएका अभियुक्त बिसिको बिगत आपराधिक चरित्रको रहेको प्रहरीले जानकारी दिएको छ। नेपाली युवतीलाई ललाई फकाई विवाह गर्छु भन्दै काकडभिट्टाबाट भारत लगेर बिक्री गरेको आरोपमा इलाका प्रहरी कार्यालय काकडभिट्टाले पक्राउ गरी २०६१ साल साउन २७ गते उनलाई पक्राउ गरेको थियो।

त्यसैगरी २०६२ साल चैत ८ गते सर्वसाधारणलाई धम्की दिंदै चन्दा असुली गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले बिसीविरुद्ध मुद्दा चलाएको । यसको दुई वर्षपछि फिरौती रकम असुलेको आरोपमा काठमाडौंबाटै उनीविरुद्ध मुद्दा चलेको पाइएको छ ।

तात्कालिन महानगरीय प्रहरी परिसर काठमाडौं हाल जिल्ला प्रहरी परिसर)ले २०६४ साल भदौ ९ गते ९ भदौ २०६४ माबाट उनीविरुद्ध फिरौती लिएको आरोपमा मुद्दा चलेको थियो । एक व्यक्तिलाई नियन्त्रणमा लिएर ट्याक्सीमा राख्दै धम्क्याएर फिरौती असुलेको आरोप थियो ।

२०६४ चैत २७ गते पहिलो पटक भएको संविधानसभाको निर्वाचनमा उम्मेदवार ऋषि शर्मा प्रचार प्रसार सकेर आउँदै गर्दा सुर्खेतको मेहलकुना जहरेबजार नजिक लोदे भन्ने ठाउँमा गोली हानी हत्या गरेको आरोप उनीमाथि लागेको थियो। त्यसबेला इलाका प्रहरी कार्यालय छिन्चुबाट उनीविरुद्ध मुद्दा चलेको थियो ।

यसपछि पनि २०६५ चैतमा द्वन्द्वपीडित सेना प्रहरीको आन्दोलनको क्रममा प्रहरीको हतियार नै खोसेका थिए । यो केशमा उनीविरुद्ध काठमाडौंबाट मुद्दा चलेको थियो ।

अभियुक्त क्षेत्रीले यसअघि माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतलाई समेत गोली हानेका थिए । कोटेश्वरको निखिलेश्वर मन्दिरमा बस्नेतलाई उनले गोली हानेका हुन् । यो केशमा उनलाई ५ वर्ष जेल र ६० हजार जरिवाना तोकिएको थियो । जेल भुक्तान गरेर उनी २८ फागुन २०७० मा छुटेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार