हेटौडामा गएराती दाजु विदेश भएकी भाउजुको हत्या : अर्का दाजुमाथि खुकुरी प्रहार

हेटौडामा गएराती दाजु विदेश भएकी भाउजुको हत्या : अर्का दाजुमाथि खुकुरी प्रहार


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १४ चैत्र २०८१
  • 8.6K
    Shares

पोखरा,१४ चैत २०८१।

हेटौडामा गएराती एक युवाले आफ्नो दाजु विदेश भएकी भाउजुको हत्या गरेका छन् भने अर्का दाजुलाई आक्रमण गरेर घाइते बनाएका छन्।

हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलका २३ वर्षीय राहुल भनिने रमेश दासले बुधबार राति ९ बजे आफ्नी ३५ वर्षीया भाउजु गुडिया दासलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् भने आफ्नो माइलो दाजु २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्। मृतक गुडिया दासका श्रीमान रोशन दास रोजगारीका लागि कतारमा रहेको प्रहरीले जानकारी दिएको छ । गुडिया र रोशनका तीन सन्तान रहेका छन् ।

चौकीटोलमा रूपेश दास घाइते भएको खबर पाएर दासको घर पुगेको प्रहरीले दोस्रो तलामा कोठाभित्र टाउकोमा चोट लागेको अवस्थामा गुडिया दासलाई मृत अवस्थामा भेट्टाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी डिएसपी श्यामु अर्यालले जानकारी दिए।

राहुलले आफ्नो माइलो दाजु २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएकोे डिएसपी अर्यालले जानकारी दिए । घाइते रूपेशको टाउको, दाहिने हात, करङको भागमा चोट लागेको अर्यालले बताए । उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा उनका कान्छा देवर २३ वर्षीय राहुल भनिने रमेश दास संलग्न रहेको आरोपमा प्रहरीले उनलाई हातमा खुकुरी बोकेकै अवस्थामा पक्राउ गरेको छ ।

दास परिवारले हेटौंडामा फलफूलको व्यवसाय गर्दै आएको थियो । घटना घरायसी विवादका कारण हुन पुगेको बताइए पनि प्रहरीले स्पष्ट कारण नखुलेको बताएको छ ।

राहुलले भाउजुको हत्या र दाइ रूपेशमाथि खुकुरी प्रहार गरेको स्वीकार गरेको डिएसपी अर्यालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार