पोखरा,१३ चैत २०८१।
दैलेखमा विद्युतीय गाडी दुर्घटना हुँदा एसईई परिक्षा दिएर फर्किएका चार जना बिद्यार्थी घाइते भएका छन्।
दैलेख सदरमुकामबाट आठबीस नगरपालिकातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०६२१ नम्बरको विद्युतीय गाडी भैरवी गाउँपालिका–२, रावतकोटस्थित गालुगाउँ चौतारा नजिक सडकबाट झण्डै १०–१५ मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा एसईई परिक्षा दिएर फर्किएका चार जना बिद्यार्थी घाइते भएका हुन्।
तीव्र गतिका कारण भएको उक्त गाडी दुर्घटनामा परेर ठाँटिकाँध गाउँपालिका–५ का १८ वर्षीय हिक्मत शाही, १८ वर्षीया जलधरा शाही, १८ वर्षीया शर्मिला विश्वकर्मा र आठबीस नगरपालिका–८ का १८ वर्षीय बहुविर शाही घाइते भएका प्रहरीले जानकारी दिएको छ।
विज्ञान विषयको पुरक परीक्षा सकेर घर फर्कंदै गर्दा उनीहरु दुर्घटनामा परेको प्राप्त समाचारमा जनाइएको छ। दुर्घटनापछि स्थानीयवासीले तत्काल उद्धार गरी भैरवी गाउँपालिकाको गाडीमार्फत घाइतेहरूलाई दैलेख अस्पताल पुर्याएका थिए।
उपचारपछि हिक्मत शाहीलाई डिस्चार्ज गरिएको छ भने अन्य तीन जनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको छ। उक्त दुर्घटना पश्चात चालक बेपत्ता छन् भने दुर्घटना सम्बन्धमा आबश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनिल दाहालले जानकारी दिएका छन्।