महायज्ञका लागि दलितको घर भत्काएको प्रकरण : पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

महायज्ञका लागि दलितको घर भत्काएको प्रकरण : पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ चैत्र २०८१
  • 5.4K
    Shares

सिरहा, ९ चैत २०८१।

महायज्ञका लागि दलितको घर भत्काएको विषयमा प्रहरीले सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई शुक्रबार पक्राउ गरेको छ ।

उनीहरुबिरुद्ध महायज्ञ गर्ने स्थानबाट दलित दीपक मरिकको घर भत्काउने र अछुत भनेर माटो खुर्केर फालेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी रमेश पण्डितले जानकारी दिए। पूर्ववडाध्यक्ष दिलीप यादव जनमत पार्टीका नेता पनि हुन्।

यस प्रकरणमा अहिलेसम्म जाहेरी नपरेको प्रहरीले जनाएको छ । यद्यपि, पीडित पक्षसँग पनि छलफल गरेर घटनाबारे अनुसन्धान गर्ने एसपी पण्डितले जानकारी दिए । औरही गाउँपालिकाको वडा नम्बर ५ मा दिपक मरिक (डोम)को घर भत्काएर पालिका अध्यक्ष यादव र पूर्ववडा अध्यक्ष यादवले महायज्ञको तयारी गरेका थिए ।

सिरहाको औरही गाउँपालिका वडा नं. ५ मा आगामी १७ चैतदेखि आयोजना हुने श्री विष्णु महायज्ञ हुने स्थानमा कथित अछुत डोम जातिको घर भएको भत्काउनु पर्ने आयोजक बाबा बजरंगीले सल्लाह दिएपछि पालिका अध्यक्ष यादव र पूर्व वडाध्यक्ष दिलीप यादवले डोजर लगाएर दीपक मरिकको घर भत्काइ दिएका थिए । दीपक मरिकको घर भएको स्थानको माटो अपवित्र भएको भन्दै त्यहाबाट माटो समेत खुर्केर फालिएको थियो ।

छुवाछुत गर्ने बजरंगी बाबा भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जातीय विभेद र छुवाछुत गर्दै दलित मरिकको घर भत्काइएकोमा दोषीहरु उपर कडा कानूनी कारवाहीको माग गर्दै हिजोदेखि संघीय संसद र प्रदेश सभामा दर्जनौ सांसदहरुले आवाज उठाएका थिए । आज काठमाडौंमा दलितहरुको संघ संगठनले विशाल जन प्रदर्शन गरेको थियो । आजै गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई छुवाछुतको घटनामा दोषीलाई कारवाही नगरी नरम व्यवहार गरेकोमा गृह मन्त्रालयमा तानेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार