पोखरा,८ चैत २०८१।
ललितपुरको पाटन अस्पतालबाट बुधवार दिउँसो भागेका थुनुवा कञ्चनपुरबाट पक्राउ परेका छन्। बिरामी भएपछि उपचारका लागि भन्दै पाटन अस्पताल लगिएको बेला बलात्कार मुद्दाका थुनुवा अछाम घर भएका दीपक साउद कञ्चनपुरमा पक्राउ परेका हुन्।
पाटनबाट भागेका साउदका बारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पहिचान गरेर कञ्चनपुर प्रहरीलाई जानकारी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकोछ।
प्रहरीका अनुसार , १७ वर्षकी किशोरीसँग लिभिङ टुगेदरमा बस्दै आएका साउदले गर्भवती बनाएकी ती किशोरीले केही समयअघि बच्चा समेत जन्माएकी थिइन्। आफू गर्भवती भए पछि साउदले बिबाह गर्नुको सट्टा बेवास्ता गर्न थालेकाकारण ती किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन्।
पिडित किशोरीको उजुरीका आधारमा प्रहरी वृत्त सातदोबाटोले पक्राउ गरेका १९ वर्षीय साउद बिरामी भएपछि उपचारका लागि भन्दै पाटन अस्पताल लगिएको थियो। सो क्रममा शौचालय जाने भनेर छिरेका उनी दिउँसो ११ बजेतिर झ्यालबाट हाम्फालेर भागेका थिए।