पोखरा ,३ चैत २०८१।
होली खेल्ने क्रममा विवाद हुँदा धनुषामा एक युवाको हत्या भएको छ। होली खेल्ने क्रममा शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा युवाहरुबीच बिबाद हुँदा चक्कु प्रहार गरी स्थानीय १९ वर्षीय आँशु यादवको हत्या भएको हो।
बिबादका क्रममा स्थानीय १९ वर्षीय आँशु यादवमाथि चक्कु प्रहार भएको र गम्भीर घाइते अवस्थामा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणकुमार सिंहले जानकारी दिएका छन् ।
छुरा प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ बिन्हीका २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
स्थानीयका अनुसार मृतक यादव घरको एक्लो छोरा थिए । उनको बुबाको मृत्यु मात्र ६ महिना पहिला भएको थियो ।
धनुषासहित मधेशका अधिकांश जिल्लामा शुक्रबार होली मनाइएको भए पनि जनकपुरधाममा भने शनिबार होली मनाइएको थियो ।