पोखरा, १५ फागुन २०८१।
शिवरात्रीका अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नारच्याङस्थित शिव मन्दिर दर्शन गर्न जाँदै गरेका भक्तालूहरु चढेको जिप म्याग्दीको गुइठेभिरमा दुर्घटनाग्रस्त हुँदा भ्यानचालकको मृत्यु र तीन जना गम्भीर घाइते भएका छन्।
नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रुहरू चढेको बा ६ च ४९४४ नम्बरको इकोभ्यान बेनी–जोमसोम–कोरला सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका– ३ को गुइठेभिरबाट कालीगण्डकी नदीको किनारमा खस्दा भ्यानचालकको मृत्यु भएको हो भने अन्य तीन जना गम्भीर घाइते भएका छन्।
अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरदेखि नारच्याङतर्फ जाँदै गरेको उक्त इकोभ्यान दुर्घटनामा परेर भ्यान चालक अन्नपूर्ण–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता)को घटनास्थलमै मृत्यु भएको सिमा प्रहरी चौकी भुरुङ्ग तातोपानीले जनाएको छ ।
सोहि दुर्घटनामा परेर गम्भीर घाइते भएका ५० वर्षीया रुपा पुन, ४२ वर्षीया नमिता चोचाङ्गी र ५२ वर्षीया बिष्णुकुमारी बुढाथोकीलाई उद्दार गरेर उपचारका लागि पोखरा अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
भ्यान सडकदेखि करिब एक सय ५० मिटर तल कालीगण्डकी किनारमा खसेको प्रहरीले बताएको छ ।