बन्दीपुरमा यात्रुबाहक बस दुर्घटना हुदाँ ६ जना घाइते

बन्दीपुरमा यात्रुबाहक बस दुर्घटना हुदाँ ६ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ माघ २०७७
  • 3.1K
    Shares

तनहूँको बन्दीपुरमा यात्रुबाहक बस दुर्घटना हुदाँ ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइेको छ । पोखराबाट बीरगञ्ज जाँदै गरेको ग१ख ५६९० नम्बरको यात्रुबाहक बस आज बुधबार बिहान ८ बजे दुर्घटना भएको हो ।

गम्भीर घाइते भएकी पोखरा महानगरपालिका वडा नं २६ की ५५ वर्षीया मीना गुरुङलाई थप उपचारका लागी पोखरा ल्याइएको छ । उनलाई पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

दुर्घटनामा परी घाइते हुनेमा धनुषा जिल्लाका १९ वर्षका सुरज रामदास, पोखरा २६ का ५३ वर्षका टेकबहादुर गुरुङ, रोल्पाका २५ वर्षका दीपेन्द्र बुढा, बाग्लुङकी ७२ वर्षकी गयाकला नेपाली, मुस्ताङकी २७ वर्षकी छिनी हातुङ तामाङ र रौतहटका ३९ वर्षका जयराम यादव रहेका छन् । उनीहरुको तनहूँको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

बस बन्दीपुर गाउँपालिकाको वडा नं। १ नहाला घुम्तीबाट पाँच मिटर तल बारीमा खसेको थियो । बसचालक प्रहरी नियन्त्रणमा रहेकोे प्रहरी नायव निरीक्षक रानाभाटले जानकारी दिए । बस तीव्र गतिका कारण दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार