जिल्ला कारागार शाखा कार्यालय चितवनमा कैदी जीवन बिताउँदै आएका एकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१८ का ५१ वर्षीय जङ्गबहादुर क्षेत्री रहेका छन् ।
उनको आन्द्रामा समस्या देखिएको थियो र उपचारका क्रममा भरतपुर अस्पतालमा सोमबार साँझ मृत्यु भएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए ।
२०७६ सालको मङ्सिरमा पक्राउ परेका क्षेत्रीलाई जिल्ला अदालत चितवनले मानव बेचबिखन मुद्दामा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो। अदालतको आदेश बमोजिम उनी चितवन कारागारमा बन्दी जीवन बिताउदै आएका थिए।
चितवन जिल्ला कारागारमा २५ जना महिला र दुईसय ५५ जना पुरुष बन्दी राख्ने क्षमता रहेको छ। तर अहिले सो कारागारमा रहेका छसय ९२ कैदीबन्दीमध्ये ५७ महिला र दुई आश्रित बालबालिका रहेका छन् ।