तनहुँ भिमादका एकै परिबारका कोरोना संक्रमित नौजना मध्ये तीन जनाको मृत्यु भएको छ भने बाँकी छ जनाको उपचार भैरहेको छ।
भिमादका ९८ वर्षीय धर्मकुमार श्रेष्ठको घरमा रहेका नौमध्ये तीन जनाको मृत्यु भएको हो भने बाँकी छ जनाको विभिन्न अस्पतालामा उपचार भैरहेको छ।
कृष्णकुमारकी छोरी सरिता श्रेष्ठका अनुसार, ७६ वर्षीय रामकुमार ह्याम्स अस्पतालको आईसीयूमा उपचाररत छन्। उनकी पत्नी घरमा आइसोलेसनमा छिन्। वृद्धका ७० वर्षका कान्छो छोरो चितवन, छोरी र ज्वाईं अनि साइली बुहारी पोखरामै आइसोलेसनमा छन्।।
धर्मकुमार श्रेष्ठका कान्छा छोरा दुई साताअघि चितवनमा घरमा बेहोस भएपछि उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो र उनको त्यहाँ आईसीयूमा उपचार गराइरहेका बेला उनका अन्य तीन छोरासहित परिवारका सदस्य भेट्न पुगेका थिए र त्यही उनीहरुलाई कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ।
त्यहीबेला अस्पतालका चिकित्सक र बिरामीमा कोरोना भाइरस संक्रमण भयो। धर्मकुमारको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखियो। तर, उनका छोराहरू काठमाडौं बस्ने ७६ वर्षीय रामकुमार, तनहुँ भिमाद बस्ने ७१ वर्षीय विष्णुकुमार र ७४ वर्षीय कृष्णकुमारमा कोरोना पुष्टि भयो। कोरोनाबाटै साइलो छोरो विष्णुकुमारको चितवनमा यही असोज १९ गते सोमबार चितवन मेडिकल कलेजमा ज्यान गयो। माइलो छोरो कृष्णकुमारले असोज २४ गते शनिबार बीएन्डबी अस्पताल ललितपुरमा ज्यान गुमाए।
चितवनमा अवस्था चिन्ताजनक भएपछि ९८ वर्षका वृद्धको राजधानीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो। उनको पनि यही असोज २५ आइतबार निधन भयो। पहिले नेगेटिभ देखिएका ती वृद्धको रिपोर्ट काठमाडौंमा भने पोजिटिभ देखिएको थियो।
धर्मकुमारका दुवै छोराको उपचारका क्रममा प्लाज्मा थेरापी पनि गरिएको थियो। तर बचाउन सकिएन। कोरोना संक्रमणबाट मुक्त पत्रकार लीलप्रकाश चन्दले उनीहरूलाई प्लाज्मा दान गरेका थिए।
कृष्णकुमारका ज्वाइँ एवं नेकपा नेता शंकरनारायण श्रेष्ठ परिवारका सदस्यको रेखदेख गरिरहेका छन्। अस्पतालले सावधानी नअपनाउने हो भने बिरामी भएर अस्पताल जानै नहुने अवस्था आएको अनुभव उनले सुनाए। ‘अस्पतालबाटै संक्रमण फैलनु दुःखद् हो’, उनले भने। उनका अनुसार केही पनि नभएका व्यक्ति धमाधम ज्यान जाने अवस्था आउँदा अब अस्पतालमा संक्रमण फैलन नदिन अपनाउने तरिकामा परिवर्तन हुनुपर्ने देखिन्छ। ‘केही नभएका व्यक्तिमा पनि संक्रमण फैलँदै जाने हो भने मानिस अस्पतालै जान डराउने देखिन्छ’, उनले भने, ‘अहिलेको सावधानीले नपुगेको देखियो।’