पोखरामा कोरोनाको कहर तीब्र गतिमा बढिरहेको अवस्थामा पोखराका पत्रकारहरु पनि अछुतो रहन सकेनन।
पोखरालाई कार्यक्षेत्र बनाएर क्रियाशील रेडियो लेकसिटीका रामशरण नेपाली र नया पत्रिका दैनिकका पोखरा समाचारदाता गोबिन्द सुबेदी र रेडियो जनानीकी भावना श्रेष्ठले कोरोनालाई जितेर आफ्नो कार्यक्षेत्रमा फर्किसकेको अवस्थामा पोखराकै थप पाँच जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
इमेज टेलिभिजनका पोखरा सम्बाददाता एबम बाराही एफएम पोखराका समाचार प्रमुख प्रदीप पौडेललाई आइतबार कोरोना संक्रमण पुष्टि भएको छ। आफुलाई कोरोना संक्रमण पुष्टि भएपछी पत्रकार प्रदिप पौडेलले आफ्नो फेसबुकमार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। उनले आफ्नो स्टाटसमा अघि लेखेका छन्, “गत शुक्रबार स्वाब दिएको थिएँ । आज रिपोर्ट आउँदा मलाई पनि कोरोना पोजेटिभ पुष्टि भयो । म घरमै बसेर स्वास्थ्यलाभ गरिरहेको छु । यो बेला माया र सद्भावकाे खाँचो सबैलाई हुन्छ । संक्रमण हुँदैमा कसैले कसैलाई नराम्रो नजर नलगाउनुहोला । ढिलोचाँडाे जो कोहीलाई कोरोनाले छुने अवस्था सिर्जना भएको छ । छिट्टै नै यो समस्याबाट मुक्त भएर फेरि पत्रकारिताको मैदानमा भेट हुने नै छ ।}

यस क्घी शनिबार पोखराका फोटो पत्रकारको बलियो पहिचान बनाएका पत्रकारद्वय राम गुरुङ र कृष्णमणि बराललाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक भएको थियो। गुरुङ पोखरासिटी डट कमका संचालक हुन् भने बराल अन्नपूर्णपोस्ट दैनिकको पोखरा समाचारदाता हुन्। उनीहरु दुवै पोखरा फोटो पत्रकार समुहका संस्थापक हुन् भने पत्रकार प्रदीप पौडेल पनि सोही समुहकै संस्थापक सदस्य हुन्।
होम आशोलेशनमा बसेका पत्रकार राम गुरुङले त आफ्नो फेसबुक स्टाटसमा एकदिन जो कोहीलाई कोरोना लाग्न सक्ने संकेत गर्दै सचेत रहन आव्हान गरेका छन्। उनले अघि भनेका छन्, “अहिले मेरो स्वास्थय अबस्था सामान्य भयेको छ । कोरोना एकदिन सबैलाई लाग्छ । लड्न तयार हुनुपर्छ । कास्कीमा पत्रकार साथीहरुमा कोरोनाले घर जमाएजस्तो छ । अरु साथीहरु सर्तक रहेर सुरक्षीत तरिकाले काम गर्न अनुरोध गर्दछु ।

अर्का पत्रकार कृष्णमणि बरालले आफ्नो फेसबुक स्टाटसमार्फत आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिंदै अघि भनेका छन्,”मलाइ अहिले सम्म सामान्य रुघा बाहेक कुनै समस्या छैन । स्वास्थ्यलाभको कामना गर्नुहुने तपाई सम्पूर्णमा हार्दिक धन्यवाद । तपाइँहरु पनि सुरक्षित रहनु हाेला । यहाँहरुकै शुभेच्छाले कोरोनालाई छिट्टै जित्ने छु । धन्यवाद ।”
उता कोरोना संक्रमण भएर होम आइशोलेशनमा बसिरहेका अनलाईनखबर डट कमका गण्डकी ब्युरो प्रमुख अमृत सुबेदीको अवस्था पनि सामान्य रहेको बताइएको छ। पोखरा कार्य क्षेत्र नै रहेका एक पत्रकारले बिबिध कारण आफुलाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेका छैनन्।
प्राप्त पछिल्लो जानकारी अनुसार, कोरोना संक्रमितको सम्पर्कमा रहेका नौ जना पत्रकारले आज स्वाब परीक्षणका लागि दिएका छन्। उनीहरुको आगामी तीन दिनभित्र रिपोर्ट आउने बताइएको छ।
यसैबीच नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारहरुलाई कार्य क्षेत्रमा खटिंदा आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर सतर्कताका साथ् आफ्नो कर्तब्य पालनामा लाग्न अनुरोध गरेका छन्। उनले जनसंचार डट कमसंग कुरा गर्दै अति आवश्यक बाहेक घरबाट बाहिर ननिस्कन र कार्यक्षेत्रमा जाने पर्ने भए स्वास्थ्य सतर्कता अपनाउएर अघि बढ्न आग्रह गरे। कोरोना संक्रमित पत्रकारहरुको स्वास्थ्योपचारका लागि नेपाल पत्रकार महासंघ कास्की लागिपरेको जानकारी दिंदै अध्यक्ष श्रेष्ठले उनीहरुको उपचारका लागि कुनै कसर नराखिने प्रतिबद्धता जनाए।