डा. गोबिन्द केसीको माग पुरा गर्न सरकारले आनाकानी गरेपछि नेपाल चिकित्सक संघले भोलि आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोभिड-१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने घोषणा गरेको छ । तर सरकारी वार्ता टोलीले डाक्टर केसीलाई ‘बिनाशर्त’ अनसन स्थगित गर्न अनुरोध गरेको छ।
२७ दिनदेखि आमरण अनसनरत डा. केसीको जीवन रक्षाका निम्ति सरकार गम्भीर नभएको र वार्तालाई सिमित गराएको भन्दै संघले आइतबार आकस्मिक र कोभिड-१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने निर्णय गरेको हो ।
२५ गतेसम्म सत्याग्रह अन्त्य नभए कडा आन्दोलनका कार्यक्रम गर्ने चिकित्सक संघको चेतावनी छ ।
डा. केसीले ६ बुँदे माग राखेर २९ भदौमा अनसन थालेका थिए । अनसनको २४औं दिन सरकारले वार्ता टोली बनाएपछि बिहीबार र शुक्रबार वार्ता पनि भएको थियो । डा. केसीको तर्फबाट बनेको वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष समेत सदस्य छन् । तर सहमति जुट्न सकेको छैन ।
शनिबार मात्र सरकारी वार्ता टोलीले कोभिड-१९ को महामारीले मुलुक आक्रान्त बनेको विषम परिस्थितिलाई मनन गर्न अनसन अन्त्य गर्न डा. केसीलाई आग्रह गरेको छ ।
शनिबार विज्ञप्ति जारी गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गठित वार्ता टोलीका संयोजक गोपी मैनालीले केसीलाई अनसन स्थगित गर्न अनुरोध गरेका हुन्।
‘डाक्टर केसीले उठाउनु भएका मागप्रति संवेदनशील हुँदै २२ र २३ गते वार्ता टोलीबीच गरिएका वार्तामा विषयवस्तुहरू प्रष्ट गरिसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकार गुणस्तरीय चिकित्सा शिक्षाको विस्तार तथा स्वास्थ्य सेवा प्रवाहमा प्रतिवद्ध छ।’
कोभिड-१९ को विश्वव्यापी महामारीले आक्रान्त भएको अवस्थामा परिस्थितिला मनन् गर्दै अनसन स्थगित गर्न विज्ञप्तिमा अनुरोध गरिएको छ।
केसीले उठाएका माग र विषयवस्तुहरू सबै कार्यान्वयन चरणमा रहेको सरकारी वार्ता टोलीको दाबी छ।
केसी विभिन्न ६ बुँदे माग राख्दै २६ दिनदेखि सत्याग्रहमा छन्। उनको जीवन जोखिममा परिरहेका बेला सरकारी पक्षले भने वार्ता गर्नुको सट्टा अनसन स्थगितको अनुरोध तेर्स्याएको हो।