वित्तीय अनुशासन गर्न प्रदेश सरकारले निर्धारण गरेको नियम नमान्दा प्रदेश नम्बर २ का ११ जना सांसद र उनीहरुका ६७ जना स्वकीय सचिबहरुले तलब खान पाएका छैनन्।
तलब सुबिधा लिन सांसदले व्यक्तिगत अस्थायी लेखा नम्बर (प्यान नम्बर) लिनुपर्ने भनेर प्रदेश सरकारले बनाएको नियम नमान्दा उनीहरुले गत साउन महिनादेखि नै तलब सुबिधा लिन नपाएका हुन्। ११ प्रदेश सांसदले प्यान नम्बर नलिएका कारण ती प्रदेशसभा सदस्यको तलब रोक्का भएको प्रदेश नम्बर २ प्रदेश सभाले जनाएको छ ।
नियुक्ति, बैंक खाता र प्यान नम्बर बुझाउन नसकेका ६७ जना प्रदेशसभा सदस्यका स्वकिय सचिवहरु समेत तलब बुझ्न नसकेको प्रदेशसभा सचिवालयका निमित्त सचिव रंजित यादवले जानकारी दिए ।
वित्तिय अनुशासन कायम गर्नका लागि संघीय सरकारले गत जेठ १५ गते वित्तिय शासन व्यवस्था लागु गरेपछि तलब बुझ्नका लागि व्यक्तिगत प्यान नम्बर अनिवार्य गरिएको हो । सरकारी तलब बुझ्ने व्यक्तिका लागि नियुक्तिपत्र, बैंक खाता र व्यक्तिगत प्यान नम्बर अनिवार्य गरिएको थियो ।
प्रदेशसभा सचिवालयका निमित्त सचिव रंजित यादवले भने ‘माननीय जीहरुको तलब बुझ्ने व्यवस्था मिलाउनका लागि डकुमेन्टहरु जम्मा गरिरहेका छौँ, प्रकृया पूरा गरेर चाँडै नै बाँकी रहेका माननीय जीहरुको तलब उपलब्ध गराइने छ ।’