पोखरा १४ मा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले प्रतिबद्धता अनुरुप काम पूरा नगरेको वडाध्यक्ष कार्कीको गुनासो

पोखरा १४ मा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले प्रतिबद्धता अनुरुप काम पूरा नगरेको वडाध्यक्ष कार्कीको गुनासो

भट्टराई पोल्ट्री फर्म हटाउन स्थानीयको माग


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ असोज २०७७
  • 3.8K
    Shares

पोखरा १४ का वडाध्यक्ष प्रेम बहादुर कार्की

पोखरा महानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष प्रेमबहादुर कार्कीले सोही वडामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले प्रतिबद्धता गरे अनुरुप कुनै पनि काम पूरा नगरेको गुनासो गरेका छन्।

सोही वडाको सगरमाथा चोकमा गठित जनसक्रिय टोल विकास संस्थाको प्रथम साधारणसभा तथा अधिवेशन उद्घाटन गर्न पुगेका वदाध्यक्ष कार्कीले त्यस्तो गुनासो गरेका हुन्। उनले विकासको दृष्टिले वडा नं. १४ पछाडि रहेको तथ्य प्रस्तुत गर्दै वडाध्यक्ष प्रेमबहादुर कार्कीले वडा र महानगरका तर्फबाट त्यस टोलमा विकासका योजनाहरू पनि पार्न नसकेको स्वीकार गरे।

कार्यक्रममा उपस्थित स्थानिय जनताले आफुहरुको टोल क्षेत्रमा रहेको भट्टराई पोल्ट्री फर्मबाट उत्सर्जित दुर्गन्धका कारण टोलबासीको जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै सम्बन्धित निकायमा पहल गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका थिए । उनीहरूले घना बस्ती भएका क्षेत्रमा पशुपंक्षी फर्म राख्न नदिन समेत माग गरेका थिए ।

त्यस अवसरमा शुक्रराज बलभद्र मावि व्यवस्थापन समितिका अध्यक्ष रोमबहादुर कार्की, पोखरा–१४ का वडा सदस्य ढोलबहादुर गुरुङ, नेपाली कांग्रेस, पोखरा–१४ का वडा सभापति बोधबहादुर कार्की, खाल्टे टोल विकास संस्थाका अध्यक्ष सु. भीमबहादुर गुरुङ, मसिना टोल विकास संस्थाका अध्यक्ष रामचन्द्र सुवेदी, सामुदायिक सेवा केन्द्र, पोखरा–१२, माटेपानीकी मीरादेवी आचार्यलगायतले बोलेका थिए ।

यसैबीच सो टोल विकास संस्थाको अध्यक्ष डीबी राई सर्वसम्मत चयन भएका छन्। बुधबार सम्पन्न संस्थाको प्रथम साधारणसभा तथा अधिवेशनले राइलाई टोल बिकाश संस्थाको अध्यक्ष चयन गरेको हो।

संस्थाको उपाध्यक्षमा सु. यामबहादुर गुरुङ, सचिवमा माधव क्षेत्री, सह–सचिवमा तीर्थ श्रेष्ठ र कोषाध्यक्षमा विन्दुकुमारी श्रेष्ठ चयन भएका छन्। त्यस्तै संस्थाका सदस्यहरूमा बाबुराम थापा, विष्णुकुमारी गौचन, टेकबहादुर कुँवर, डोलमाया मानन्धर, नन्दप्रसाद तुलाचन, डिलप्रसाद पौडेल, मुना थापा र जीवन गुरुङ बनेका छन्।

मीरादेवी आचार्यको संयोजकत्वमा गठित निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेकोथियो । त्यस निर्वाचन मण्डलमा डिल्ली सुवेदी र अमृत दाहाल सदस्य रहेका थिए।

प्रतिक्रिया