गोठादी सराङकोटका पहिरोपीडितलाई मगर संघ बेलायतको ४० हजार सहयोग (भिडियोसहित)

गोठादी सराङकोटका पहिरोपीडितलाई मगर संघ बेलायतको ४० हजार सहयोग (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० असोज २०७७
  • 4.3K
    Shares

नेपाल मगर संघ, केन्द्रीय समितिको आह्वान र अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायतद्वारा संकलित राहत रकम शुक्रबार कास्कीको पोखरा महानगरपालिका वडा नं. १८, सराङकोट, गोठादीका पहिरोपीडितलाई हस्तान्तरण गरिएको छ ।

नेपाल मगर संघ, कास्कीले मगर संघ, बेलायतले संकलन गरेर पठाएको राहत रकम ४० हजार रुपैयाँ सराङकोटका पहिरोपीडितलाई प्रत्यक्ष रुपमा भेटेर हस्तान्तरण गरेको छ । पहिरोमा परी मृत्यु भएका मृतकका परिवार र घाइतेलाई नेपाल मगर संघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इञ्चार्ज खेम पुनमगर, केन्द्रीय सदस्य पूर्णबहादुर रानामगर र कास्की जिल्ला अध्यक्ष संगीता पुनमगरलगायतले शुक्रबार एक कार्यक्रमबीच राहत रकम हस्तान्तरण गरे ।

राहत वितरणपछि बोल्दै संघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश इञ्चार्ज खेम पुनमगरले विश्वव्यापी रुपमा कोभिड–१९ को महामारीका बेला बाढीपहिरोलगायतका प्राकृतिक प्रकोपबाट यस वर्ष देशले ठूलो धनजनको क्षति व्यहोर्नु परेको उल्लेख गर्दै मगर संघको आह्वानमा रकम संकलन गरेर पीडितहरुलाई वितरण गर्ने गरिएको बताए । उनले पीडितलाई थोरै भएपनि मगर संघले पीडामा मल्हम लगाउने प्रयास गरेको उल्लेख गरे ।

संघका अर्का केन्द्रीय सदस्य पूर्णबहादुर रानामगरले पैसा भन्दा पनि आत्मीयता ठूलो भएको भन्दै विदेशमा रहेका नेपालीहरूबाट नेपालमा परेको विपद्मा साथ दिएकोमा सरहाना गरे । एक मगरले अर्को मगरको दुःखमा साथ दिने काम भएको भन्दै उनले सबैले नैतिक, भौतिक र आर्थिक रुपमा सक्दो सहयोग गर्ने गरेको दृष्टान्त प्रस्तुत गरे ।

नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगरले मगर संघ, कास्कीले यसअघि पनि पहिरोपीडितलाई सहयोग गरेको उल्लेख गर्दै मगर संघ, बेलायतबाट पठाइएको रकम हस्तान्तरण गर्ने अवसर दिएकोमा नेपाल मगर संघ र अन्तर्राष्ट्रिय मगर महासंघलाई धन्यवाद दिइन ।

नेपाल मगर संघ, सराङकोट इकाईका अध्यक्ष सञ्जीव थापामगरले सामाजिक भावनाले सहयोग जुट्न ठूलो टेवा पुगेको भन्दै एकले अर्कोको दुःखमा साथ दिनुको परिणाम धेरैले राहत सहयोग गरेको उल्लेख गरे । साथै, उनले सहयोग गरेकामा मगर संघ बेलायतलाई धन्यवाद समेत दिए ।
राहत वितरण कार्यक्रममा नेपाल मगर संघ, कास्कीका सह–सचिव लालबहादुर रानामगरले पनि बोल्नुभएको थियो ।

सो अवसरमा लालीगुराँस ऐंजु आमा समूह, पोखरा–३० तर्फबाट अध्यक्ष दीक्षा पुनले ५ हजार रुपैयाँ र संघकी जिल्ला सचिवालय सदस्य देउकुमारी थापामगरले ३ हजार रुपैयाँ समेत राहत स्वरुप सहयोग गरेको जिल्ला सचिव रामबहादुर थापामगरले जानकारी दिए ।

गत असार २५ गते गएको पहिरोले पुरिएर टंकबहादुर थापामगरसहित ५ जनाको मृत्यु र ८ जना घाइते भएका थिए ।

प्रतिक्रिया