सरकार कोरोना भाइरस संक्रमण फैलिन नदिन भन्दै निषेधाज्ञासहितको कडा लकडाउन गरेर मौन बसेको छ। ती मध्ये केहीले निषेधाज्ञा वा लक डाउनले उद्योगी-व्यापारीको अवस्था कमजोर बनेको र यही कारण देशको आर्थिक अवस्था धराशायी बन्दैछ भनेर कोरोहोलो हालिरहेका छन्। तर बैकं तथा वित्तीय संस्थासंग ऋण लिएर पश्पालन तथा तरकारी खेती गरिरहेका किसानाहरुको अवस्था बारे कसैले ध्यान दिएको छैन।
निषेधाज्ञाका कारण बिक्री नभएपछि भक्तपुरको सूर्यबिनायकका किसानहरुले दूध सडकमा ल्याएर पोखेका छन्। सूर्यबिनायक नगरपालिका-८ सूर्यविनायक चोकमा रहेको रानीकोट डेरीका सञ्चालकले किसानबाट संकलित दुध बिक्री नभए पछि सडकमा पोखेका हुन् ।
भक्तपुरमा निषेधाज्ञाको समयमा बिहान ९ः१५ बजेसम्म मात्रै दूध तथा खाद्यन्न पसल सञ्चालन गर्न पाइन्छ । त्यस बाहेकका समयमा पानी र औषधिजन्य व्यवसाय मात्रै सञ्चालन गर्न पाइने भएकाले दूग्ध पदार्थको संकलन र बिक्री प्रभावित भएको छ ।
निषेधाज्ञाका कारण बिक्री घट्दा किसान र व्यवसायी दुवै मारमा परेको नेपाल डेरी एशोसिएसनले जनाएको छ । चार महिना लामो लकडाउनका कारण समस्यामा परेका व्यवसायी र किसानले साउन पहिलो हप्तादेखि केही राहात पाए पनि निषेधाज्ञाका कारण फेरि दूग्ध पदार्थ खपत ओरोलो लागेको एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए ।
‘बिहान ९ बजेसम्म खुल्न दिने भने पनि प्रहरीले बिहानैदेखि धरपकड थाल्छ, मानिसहरु बाहिर निस्कनै डराएका छन्, बिक्री ५० प्रतिशतमा घटेको छ,’ सापकोटाले भने ।
काठमाडौंमा दैनिक ७ लाख लिटर दूध खपत हुने गरेकोमा निषेधाज्ञाका कारण अहिले तीन लाख लिटर हाराहारी मात्रै दूग्ध पदार्थ बिक्री हुने गरेको एशोसिएसनले जनाएको छ ।