टिकटकका सीईओ मेयरले तीन महिनामै राजीनामा दिए

टिकटकका सीईओ मेयरले तीन महिनामै राजीनामा दिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ भाद्र २०७७
  • 4.1K
    Shares

केविन मेयर

नियुक्त भएको तीन महिनामै टिकटकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) केभिन मेयरले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलगायत चिनियाँ एपले राष्ट्रिय सुरक्षामा चुनौती थपेको बताउँदै ती एपलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि मेयरले राजीनामा दिएका हुुन् ।

मेयरले बिहीबार टिकटकको सञ्चालक बाइटडान्सका कर्मचारीलाई आफूले बिहीबारदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी गराएका थिए ।

महाप्रबन्धक भानेसा पापासले अन्तरिमकालका लागि सीईओको जिम्मेवारी लिने फाइनान्ससियल टाइम्सले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति केहीअघि बाइटडान्सले कुनै अमेरिकी कम्पनीलाई आफ्नो स्वामित्व नबेचेसम्म अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउन आदेश दिएका थिए ।

डिज्नीका पूर्वप्रमुख समेत रहेका मेयरले गत जुनमा टिकटकको जिम्मेवारी सम्हालेका थिए । पछिल्लो समय युवा पुस्तामाझ निकै लोकप्रिय बनेको भिडियो सेयरिङ एप टिकटककै कारण दुई ठूला शक्तिराष्ट्र अमेरिका र चीनबीचको सम्बन्धमा दरार आएको छ ।

अमेरिकामा बाइटडान्सले सन् २०१७ मा टिकटक एप ‘लन्च’ गरेको थियो । त्यसपछि उसले ‘म्युजिकल्ली’ नामक भिडियो एप किनेको थियो जसन अमेरिका र युरोपमा निकै लोकप्रिय भएको थियो ।

विश्वभर टिकटकका प्रयोगकर्ता करिब ५० करोड छन् भने अमेरिकामा मात्रै करिब ८ करोड प्रयोगकर्ता रहेका छन् । टिकटक युवा पुस्तामाझ निकै लोकप्रिय एप हो । २० वर्ष वा त्योभन्दा कम उमेरका युवा पुस्तामाझ टिकटक निकै लोकप्रिय रहेको बताइन्छ ।

प्रतिक्रिया