नेपाली सिने जगतका महानायक राजेश हमालले नेपाली चलचित्र वृत्तमा कार्यरत विभिन्न प्राविधिकहरूको कोरोना बिमा गर्ने घोषणा गरेका छन् । अहिलेको निषेधाज्ञा केही कम हुनासाथ प्राविधिकहरूको कोरोनासम्बन्धी स्वास्थ्य बिमा आफूले गरिदिने हमालले बताएका छन् ।
नेपाल चलचित्र प्राविविधक संघका अध्यक्ष पुष्कर लामाका अनुसार अभिनेता हमालले प्राविधिक संघमा आबद्ध ६ सय जना प्राविधिकको कोरोना बिमा गरिदिने बताएका छन् । जसका लागि आफूले प्राविधिकहरूले नामको सूची तयार गरेको अध्यक्ष लामाको भनाइ छ । उनले अभिनेता हमाललाई प्राविधिकहरूको सो नामको सूची एक÷दुई दिनमै बुझाउने भएका छन् ।
अध्यक्ष लामाको अनुसार आर्थिक रूपमा विपन्न एक सय जना प्राविधिकलाई जनही पांच हजार रुपैयाँका दरले राजेश हमालले आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।
आर्थिक सहयोगसँगै केही प्राविधिकले कोरोना बिमाको पनि माग गरेपछि सो प्रस्ताव राजेश हमालसमक्ष राखेको पनि अध्यक्ष लामाले बताए । अभिनेता हमालले जनही एक हजार रुपैयाँ तिरेर छ सय जना चलचित्र प्राविधिकहरूको कोरोना बिमा गरिदिने प्रतिबद्धता पनि जनाइसकेका छन् ।
बहुसंख्यक प्राविधिकसँग काम गरेका कारण अभिनेता हमाललाई ती प्राविधिकहरूको आर्थिक अवस्था पनि जानकारी छ । त्यसैले, अभिनेता हमालले नै उनीहरूको अवस्थाबारे आफूहरूसँग सोधेर यस्तो राम्रो काम गर्न लागेको प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताएका छन् ।