ठूलोमात्रामा अवैध जंगली जडिबुटी सहित लमजुङबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी टोलीले शनिबार लमजुङ बेसिशहर नगरपालिका वडा नं ७ बस्ने वर्ष ३८ कि सिद्धिमाया तामाङलाई ठूलो मात्रामा अवैध जंगली जडिबुटी सहित पक्राउ गरेको हो।
घरमा अवैध रूपमा जङ्गली जडिवुटी लुकाई छिपाई संकलन गरी राखेको भन्ने विशेष सूचनाका आधारमा विशेष प्रहरी टोलीले छापा मारी उनको घरमा खानतलासी गर्दा विभिन्न प्रजातिको अवैध जंगली जडिबुटी फेला पारेको दाबी प्रहरीले गरेको छ ।
प्रहरीले उनको घरबाट अबैध रुपमा लुकाइराखेको अवस्थामा डालिङ (गुरुङ भाषामा टलिट) चारसय ७६ किलो, वन लसुन एकसय ५४ किलो, कुड्की २४ किलो, जटामसी १५ किलो , सुगन्धवाल १८ किलो, सतुवा( चार किलो, वन आलु तीन किलो गरी जम्मा छसय १५ किलो जडिबुटी बरामद गरेको बताइएको छ ।
पक्राउ परेकि निज सिद्धि माया तामाङ तथा बरामद भएका उक्त जडिबुटी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लमजुङ पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान पनि भईरहेको छ ।