कोरोना संक्रमण तीब्र रुपमा फैलिदै, ३५ जिल्लामा पूर्ण र १२ मा आंशिक निषेधाज्ञा

कोरोना संक्रमण तीब्र रुपमा फैलिदै, ३५ जिल्लामा पूर्ण र १२ मा आंशिक निषेधाज्ञा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ भाद्र २०७७
  • 6K
    Shares

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पहिलो मृत्यु जेठ ३ गते पुष्टि भए यता हालसम्म कोरोना भाइरस संक्रमणकाकारण एकसय ५६ जनाको मृत्यु भएको छ।  ती मध्ये गत हप्तामात्र ५५जनाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोनाकै कारण दैनिक मर्नेको संख्या पनि तीब्र रुपमा बढिरहेको छ। यहीकारण आइतबार मात्र  आठ जनाको मृत्यु भएको बताइएको छ।  आइतबार रुपन्देहीमा ३ जना, झापा, सुनसरी, धनुषा सर्लाही र पर्सामा एकएक जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभरमा गरी १३७ जना संक्रमित आईसीयूमा छन् भने १० जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।

लकडाउन अन्त्य भएसँगै मुलुकभर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि ३५ जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेका छन् । निश्चित क्षेत्रमा संक्रमण देखिए आंशिक निषेधाज्ञा गरिएको छ । त्यसअनुसार १२ जिल्लामा आंशिक निषेधाज्ञा लागू गरिएको छ ।

गृह मन्त्रालयका अनुसार कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको निष्कर्ष अनुुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लागू गरेका हुन् । स्थानीय प्रशासन ऐन, २०२८ र मन्त्रिपरिषदको निर्णय बमोजिम संक्रमण बढी देखिएको स्थानमा सीडीओहरुले निषेधाज्ञाको आदेश जारी गरेको बताएका छन् ।

एक सरकारी अधिकारीका अनुसार अब लकडाउन नगर्ने निर्णय अनुसार संक्रमण देखिएका ठाउँमा अघोषित रुपमा लकडाउन सरह नै निषेधाज्ञा जारी गर्ने नीति लिइएको हो ।

गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार आइतबारसम्ममा सप्तरी, धनुषा, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, धनकुटा, पाल्पा, रामेछाप, दोलखामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।

नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्युठान, दैलेख, गुल्मी, कञ्चनपुर, डडेलधुरा, कालिकोट, तेह्रथुम, संखुवासभा, रुपन्देही, चितवन र बैतडीमा पनि जिल्लाभर निषेधाज्ञा छ ।

आंशिक निषेधाज्ञा लागु गरिएका जिल्लामा नुवाकोट, जुम्ला, मोरङ, दार्चुला, झापा, मकवानपुर, धादिङ, उदयपुर, तनहुँ, सुर्खेत, बाग्लुङ, पश्चिम रुकुम र जाजरकोट छन् ।

महामारी नियन्त्रणका लागि भन्दै कपिलवस्तु र नुवाकोटले जिल्ला प्रशासन कार्यालयबाट हुने सबै सेवा बन्द गराएका छन् ।

निषेधाज्ञा लागू गरिएका क्षेत्रमा सर्वसाधारणलाई हिँडडुलमा रोक लगाइएको छ भने अत्यावश्यक सेवा मात्र सुचारु गरिएको छ । आइतबारबाट उपत्यकामा खाद्यान्न तथा तरकारी पसल पनि बिहान ९ः१५ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको छ ।

 ८१८ संक्रमित थपिए

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र २६६ जनासहित ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३१ हजार ३१ हजार ९३५ पुगेको छ । उनीहरुमध्ये १८ हजार ६३१ जना निको भइसकेका छन् भने १३ हजार १५५ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया